कीर्तिपुरमा अस्थायी प्रहरी पोष्ट स्थापना

कीर्तिपुर । मोरङको पथरी शनिश्चरे ७ कीर्तिपुरमा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ ।

बुधबार अस्थायी प्रहरी चौकी कीर्तिपुर उद्घाटन समारोहको कार्यक्रम गरि चौकी स्थापना गरिएको हो । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले चौकी उद्घाटन गरेका छन् । प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश श्रेष्ठले कीर्तिपुरमा आपराधिक गतिविधि बढेकाले करिब १३ हजार जनसंख्यालाई शान्ति सुव्यवस्था कायम गर्न चौकीको स्थापना भएको बताएका छन् । प्रहरी उपरीक्षक कार्कीले महिना दिन परिक्षण काल रहने भएकालेे चौकीलाई स्थायी बनाउन स्थानीयवासीको सहयोग गर्न आग्रह गरे । कार्यक्रममा ४ नम्बर वडाका वडाअध्यक्ष लोककिरण न्यौपाने, ७ नम्बर वडाका वडाअध्यक्ष उद्वबराज बस्नेतले चौकी स्थापना गर्न भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

अस्थायी प्रहरी पोष्ट कीर्तिपुरमा असई रामदेब मेहताको नेतृत्वसहित ५ जना प्रहरी रहनेछ । सो पोष्टको कार्यालय २०७८ साल फागुन २१ गते उद्घाटन भएको कीर्तिपुर सामुदायिक भवनमा रहेको छ । पथरी शनिश्चरे नगरपालिका भित्र कीर्तिपुर, हसन्दह, कुशल चोक र कुशेमा प्रहरी चौकी र पथरीमा इलाका प्रहरी कार्यालय स्थापना भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार