महिला प्रजनन स्वास्थ्य सम्वन्धी निःशुल्क शिविर सुरु, शिविरबाट लाभ लिन नगर प्रमुख तुम्बापोको आग्रह

मङ्गलबारे(हसन्दह)। प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा नि:सन्तान सम्बन्धी एकीकृत व्यवस्थापनका लागि स्वास्थ्य शिविर सुरु भएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र(मङ्गलबारे)मा आजदेखि सुरु भएको शिविर पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गरेका छन् । नगर प्रमुख तुम्बापोले लक्षित वर्गले समयमै रोगको पहिचान गरि शिविरबाट लाभ लिन आग्रह गरे ।
पथरी शनिश्चरे वडा नं. ६ का वडा अध्यक्ष कृष्णकुमार बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र स्वास्थ्यकर्मी निर्मला विकले शिविर बारेमा प्रस्टाएका छन् । कार्यक्रममा उपप्रमुख देविमाया काफ्ले, वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, स्वास्थ्य अधिकृत एकराज खत्री, नगरका स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीयबासीको उपस्थिति रहेको थियो । आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ का प्रमुख चन्द्र राजवंशीका अनुसार शिविरमा महिलाहरूका प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तान सम्बन्धी समस्या सम्वन्धी परीक्षण तथा परामर्श सेवा प्रदान गरिने बताइएको छ ।
तीनदिनसम्म जारी हुने शिविर भोलि (चैत्र २७ गते शुक्रबार) वडा नं. ७ र चैत्र २८ गते शनिबार वडा नं. १० को शरणार्थी शिविरमा पनि सञ्चालन हुनेछ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङको समन्वयमा शिविर भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार