पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य पूरा हुने

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माणाधिन प्रमुख प्रशासनिक भवन निर्माण कार्य अब पूरा हुने भएको छ । संघीय सरकारबाट प्राप्त हुने अनुदान नरोकिने भएपछि निर्माण सम्पन्न हुने भएको हो । नगर प्रवक्ता नविन कार्कीका अनुसार नगरपालिकाको आन्तरिक बजेटबाट नै भवन निर्माण सुरु भइसकेको र अनुदान प्राप्तिका लागि आवश्यक कागजातहरू क्रमबद्ध रूपमा पेश भइरहेको थियो ।
गत आइतबार नगर प्रमुख मोहन प्रसाद तुम्वापो, युवा अभियन्ता गणेश कार्की सहितको टोलीले सहरी विकास मन्त्रालयमा मन्त्री माननीय कुलमान घिसिङसँग भेटघाट गरेको थियो । भवन निर्माणका लागि संघीय अनुदान नआएका कारण उत्पन्न भएको समस्या उहाँहरूद्वारा मन्त्रीसमक्ष राखिएको थियो ।
स्थानीय पूर्वाधार विकास कार्यक्रम (DOLI) को बैठकबाट पथरी शनिश्चरे नगरपालिकाको नाम अनुदानका लागि छनौट भइसकेको प्रवक्ता कार्कीले जनाए ।
सो बाहेक पथरी शनिश्चरे नगरपालिकाको पथरी–डायनिया सडकका लागि विनियोजित ६ करोड रुपैयाँ अर्थ मन्त्रालयले देशभरको बजेट रोक्का गरेसँगै रोकिएको हुँदा उक्त रकम छिट्टै सञ्चालनमा ल्याउन माग गरिएको छ । यसैगरी मनमोहन–गान्धी सडक निर्माण कार्य ढिलाइ भएकाले तुरुन्तै काम अगाडि बढाउन, अन्यथा ठेक्का रद्द गरी ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने विषयमा पनि ध्यानाकर्षण गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार