माछापालनको ध्याउन्नमा कृषकः फाइदा कि बेफाइदा ?

फिपराज बेघा
लक्ष्मी कृषि फार्मका संचालक हुन्, लक्ष्मी धिमाल । उनको दुइटा पोखरी छ । वार्षिक ६ सय केजीसम्म माछा उत्पादन गरेका धिमाललाई पथरी शनिश्चरे नगरपालिका–७ नम्बर वडा कार्यालयले उत्कृष्ट माछापालन कृषक भनेर पुरस्कृत गर्‍यो । धान खेत मासेर माछापालन गरेका धिमालले डेढ लाखको खर्चमा करिब ७ कट्ठाको दुई पोखरी निर्माण गरेका हुन् । माछापालन गर्दा धानबाली भन्दा राम्रो आम्दानी हुने उनको अनुभव छ।

लक्ष्मी कृषि फार्मका सञ्चालक लक्ष्मी धिमालले निर्माण गरेको पोखरी ।

सबैभन्दा कम जनसङ्ख्या रहेको वडा नम्बर ७ को क्षेत्रफल ८.२६ वर्ग किलोमिटर क्षेत्रफल छ । ५ हजार ३ सय ९१ मध्ये २ हजार ४ सय ७१ पुरूष र २ हजार ९ सय २० महिला रहेको छ । यो वडामा न्यून क्षेत्रफलमा माछापालन गरिन्छ ।

पाण्डे कृषि फार्म(पथरी शनिश्चरे–५)का सञ्चालक दीपक पाण्डे पोखरी नियाल्दै ।

यता पाण्डे कृषि फार्म(पथरी शनिश्चरे–५)का सञ्चालक दीपक पाण्डेको अनुभव अलिक फरक छ । ‘वार्षिक ७०–८० केजी माछा निस्कन्छ।’ उनले भने,‘माछाबाट खासै आम्दानी लिन सकेको छैन ।’ ८ कट्ठाको दुई पोखरी रहेको पाण्डेको पोखरी खन्नलाई ५० हजार पथरी शनिश्चरे नगरपालिकाले अनुदान दिएको सुनाउँछन् । ५ वर्ष अघि पोखरी खन्दा उनको साढे तीन लाख खर्च बढी भयो।

पालिकाको दक्षिणी क्षेत्र वडा नम्बर ५ मा सबैभन्दा धेरै क्षेत्रफलमा माछापालन गरिन्छ । वडा नम्बर ५ मा २ दर्जन कृषकले २५ बिघाभन्दा बढीमा माछापालन गर्दै आएका छन् । मौलीबारीमा व्यवसायिक माछापालन गर्ने कृषकहरूको लर्को छ । नेत्र बस्नेत, टेक बहादुर भट्टराई, पहलमान भट्टराई, जगत बहादुर भट्टराई, धनबहादुर भट्टराई, रामचन्द्र निरौला, देबीबहादुर घिमिरे, खगेन्द्र खड्का, चेतन दाहाललगायत माछापालन व्यवसायमा तल्लीन छन् । पालिकाको सबैभन्दा बढी क्षेत्रफलमा माछापालन फर्म पनि मौलीबारीमा छ । न्यु सगरमाथा नेचुरल फर्म प्रालिले १६ बिघामा माछापालन गरिरहेको छ । २०७१ सालदेखि सुरु भएको फार्मले ६ जनालाई रोजगारीसमेत दिएको छ । वार्षिक ७० लाखदेखि ७५ लाखको माछा बिक्री गर्ने र सो को ३०% देखि ४०% सम्म फाइदा हुने फार्म सञ्चालक चेतन दाहालले बताए । उन्नत जातको भुराको अभाव, माछाले खाने दानाको अभाव र भारतीय माछासँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौति रहेको दाहालले औल्याए । सरकारले माछापालन प्रोत्साहन गरेमा माछापालन व्यवसाय अझ राम्रो हुने उनको ठम्याइ छ ।
वडा नम्बर ५ मा ६ हजार ९१ मध्ये २ हजार ९ सय ४ पुरूष र ३ हजार ८७ महिला छन् । १३.७४ वर्ग किलोमिटर क्षेत्रफल रहेको वडा नम्बर ५ नगरकै क्षेत्रफलको आधारमा ठुलो वडा हो ।

पदमबहादुर मगरले बनाएको नमुना पोखरी ।

पालिकाको वडा नम्बर ९ का कृषक ७९ वर्षीय पदमबहादुर मगरको लोभलाग्दो पोखरी छ । नमुना पोखरामा भूपू बृटिस आर्मी मगरले ७ लाख खर्चेर ८ फिटको २ कट्ठामा पोखरी निर्माण गरे । २०७७ सालमा पुननिर्माण गरेको पोखरीबाट वार्षिक १ लाख आम्दानी गरेको उनले सुनाउँछन् । ६ हजार ७ सय ४९ कुल जनसङ्ख्या रहेको वडा नम्बर ९ मा ३ हजार १ सय ४५ पुरूष र ३ हजार ६ सय ४ महिला गरेको छ । ९ वडाको क्षेत्रफल ३.९३ वर्ग किलोमिटर रहेको छ । ३ बिघा ६ कट्ठा क्षेत्रफलमा माछापोखरी रहे पनि सबैले माछापालन नगरेको वडा अध्यक्ष वीरबहादुर राईले बताउँछन् ।

वडा नम्बर ६ मा ६ हजार ८ सय ५९ जनसङ्ख्या छ । ३ हजार २ सय ६६ पुरूष र ३ हजार ५ सय ९३ महिला रहेको छ । १२.११ वर्ग किलोमिटर वडा नम्बर ६ क्षेत्रफलमध्ये ५ विघा ५ कट्ठामा माछापालन गरिदै आएको पाइएको छ ।

हसन्दहबजारका अगुवा माछापालन कृषक नन्दन थापाको पोखरी ।

मुख्य पेशा माछापालन गर्नेमा पथरी शनिश्चरे–६, हसन्दहबजारका नन्दन थापाको नाम अगाडि आउछ । २०७० सालमा डेढ लाखबाट दुइटा पोखरीबाट माछापालनमा लागेका थापाले २०७२ सालमा माछापालन क्षेत्र विस्तार कार्यक्रमबाट २ बिघामा पोखरी खने । जिल्ला कृषि कार्यालय मोरङबाट अनुदान पाए । काँटा र जाल पनि ५०% अनुदानमा ल्याउन सफल भए । अहिले थापाको ३ बिघामा १२ पोखरी रहेको छ । वर्षमा ३५ लाखदेखि ४० लाखसम्म उत्पादन गर्दा ७०% खर्च हुने र ३०% आम्दानी हुने थापाको भनाइ छ । ६ जनालाई रोजगारी दिएका थापाको टिलपियाको ह्याचरी समेत छ । यो ह्याचरी नेपालको दोस्रो ह्याचरी हो । सुर्य एग्रीकल्चरका सञ्चालक थापा माछापालन कृषकका अगुवा हुन् । ‘पथरी शनिश्चरे माछापालनको लागि उपयुक्त ठाउँ हो । जमिनको हिसाबले वडा नम्बर ५ र ६ बढी उपयुक्त स्थान हो ।’ भन्छन्, ‘पथरी शनिश्चरेमा माछापालनको राम्रो सम्भावना छ ।’ माछापालन व्यवसाय तुरून्तै लाभ लिन सकिने बाली नभएको र हतारमा गर्न नहुने बताउँदै अगुवा माछापालन कृषक थापा प्राविधिक ज्ञान लिएर माछापालन गर्न आग्रह गर्छन् ।

पूर्वी वडा ३ मा ७ हजार ३ सय १९ मध्ये ३ हजार ४ सय ३६ पुरूष र ३ हजार ८ सय ८३ महिला रहेको पाइन्छ । १२.२७ वर्ग किलोमिटिर क्षेत्रफलमध्ये वडामा १ विघामा पोखरी रहेको छ ।
वडा नम्बर ४ मा ३ हजार ६ सय ८७ पुरूष र ४ हजार २ सय ३९ महिला जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्या ७ हजार ९ सय २६ रहेको छ । ७.१६ वर्ग किलोमिटर क्षेत्रफल वडा नम्बर ४ को रहेको छ । जसमध्ये ३ विघा १० कट्ठामा माछापालन भइरहेको छ ।

वडा नम्बर ८ मा रहेको पोखरी ।

पश्चिमी वडा नम्बर ८ मा २ हजार ७ सय २७ पुरूष र ३ हजार ५८ महिला गरी कुल ५ हजार ७ सय ८५ जनसङ्ख्या रहको छ । क्षेत्रफल ८.१९ वर्ग किलोमिटर मध्ये १ विघामा मात्रै माछापोखरी कषकहरुले खनेका छन् । वडा नम्बर ८ का अध्यक्ष नवीनजंग कार्कीले वडाका सबै पोखरीमा माछापालन नगरेको केहीले मात्रा माछापालन गर्दै आएको जानकारी गराए ।
नगरमा रहेको सामुदायिक बनहरू माछापालनतर्फ आकर्षित रहेको देखिन्छ । शान्ति सामुदायिक बन उपभोक्ता समूह(पथरी शनिश्चरे–१) ले ३–४ कट्ठाको पोखरीबाट ठेक्कामार्फत वार्षिक ३० हजार आम्दानी गरिरहेको छ । ठुलो पोखरीमा भुरा लगाउन अघि पञ्चवर्षीय ठेक्कामार्फत १ लाख १३ हजार वार्षिक आम्दानी गरेको बन अध्यक्ष कुलमणि गुरुङले बताएका छन् ।

१.५८ वर्ग किलोमिटर क्षेत्रफल रहेको पथरी शनिश्चरे–१ उत्तरी वडा हो । जहाँ ४ हजार ९ सय ५३ पुरुष र ५ हजार ६ सय ५२ महिला गरी कुल १० हजार ६ सय ५ जनसङ्ख्या रहेको छ । वडा नम्बर–१ मा अवस्थित मनोकामना बन पनि माछापालनतर्फ उन्मुख छ । मनकामनाको १६ कट्ठा, ५ कट्ठा र १ कट्ठाको तीन पोखरी रहेको छ । गत चैत महिनामा १ हजार भुरा लगाएको र नगरपालिकाको वितरण गर्ने भुरा अनुदानमा पनि निवेदन दिएको वन सचिव मञ्जु जबेगूले बताइन् । माछापालन सम्बन्धी व्यवसायिक तालिम बनलाई आवश्यकता रहेको बताउँदै बन सचिब जबेगूले व्यवसायिक माछापालन गर्ने समूहको योजना रहेको सुनाइन् ।

वडा नम्बर २ मा ६.४९ वर्ग किलोमिटर क्षेत्रफल र ८ हजार ६ सय जनसङ्ख्या रहेको छ । त्यसमध्ये ४ हजार ४० पुरूष र ४ हजार ५ सय ६० महिला रहेको छ । जहाँ ६ विघा क्षेत्रफलमा माछापालन हुदै आएको छ ।


वडा नम्बर २ मा रहेको दुई सामुदायिक बन सुन्दर र हरियालीले माछापालन गर्दै आएको छ । सुन्दर सामुदायिक बनमा डेढ बिघामा चार पोखरी रहेको छ । बनले वार्षिक डेढ–दुई लाखसम्म आम्दानी गर्‍यो । २० हजार लगाएको भुराबाट २–३ क्विन्टल माछा उत्पादन हुने अनुमान गर्छन्, बन अध्यक्ष भवानी तिम्सिना । हरियाली बनको पाँच पोखरी ४ बिघामा छ । नव निर्मित पोखरीमा ८–९ महिनाअघि बनले माछाको भुरा लगाएको छ ।
५.८७ वर्ग किलोमिटर क्षेत्रफल रहेको उत्तर पश्चिम वडा नम्बर १० मा ७ हजार १ सय २६ जनसङ्ख्या रहेको छ । त्यसमध्ये ३ हजार ३ सय ५५ पुरूष र ३ हजार ७ सय ७१ महिला रहेको छ । ८ बिघा १० कट्ठा पोखरी रहेको वडा नम्बर १० मा तीन सामुदायिक बन माछापालनतर्फ लागिरहेको पाइएको छ ।
भुल्के पशुपति बनले १ लाख ७० हजार लगानी गरेर माछापालन गर्‍यो । गत साल १२ कट्ठाको पोखरामा अविरल बर्षाको कारण जाली फुटेर माछा भागेपछि माछापालनबाट आम्दानी गर्न नसकेको बन अध्यक्ष कबिराज लिम्बु जनाए । पोखरीलाई व्यवस्थित गरेर माछापालन गर्ने योजना बनको छ । माछापालन गरेर मुनाफा आर्जन गर्ने उद्देश्यले पशुपति बनले डेढ बिघामा पोखरी खनेको छ । बन अध्यक्ष पुष्कर साही घेराबारा गरेर माछापालन गर्ने ध्याउन्नमा छन् ।

पालिकाको एक मात्र धार्मिक बन हो, सिरिजङ्गा स्मृति धार्मिक बन । जसको ५ बिघा क्षेत्रफलको एक पोखरी छ । बन अध्यक्ष डम्बर फागो चोङ्बाङ्का अनुसार बनले माछापालनबाट वार्षिक १ लाख आम्दानी गर्दछ।

मोरङ जिल्लाको उत्तर पूर्वमा पथरी शनिश्चरे अवस्थित छ । २०७३ फागुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका बनेको हो । १७ हजार ९ सय ८० घरधुरी रहेका यहाँ ७२ हजार ४४५ जनसङ्ख्या रहेको छ । जसमध्ये ३३ हजार ९ सय ८४ पुरूष र ३८ हजार ४ सय ६७ महिला रहेको राष्ट्रिय जनगणना, २०७८ ले उल्लेख गरेको छ । १० वडा सङ्ख्या रहेको नगरको क्षेत्रफल ७९.८१ वर्ग किलोमिटर रहेको छ । त्यसमध्ये ९ हजार ५९८ हेक्टर कृषि योग्य जमिन रहेको छ । अर्थात् ८५% कृषि क्षेत्र रहेको छ । पथरी शनिश्चरे नगरपालिकाको पशुपन्छी तथा मत्स्य बिकास शाखाका पशु प्राविधिक जनक चौधरीले नगरको करिब २५०–३०० हेक्टरमा माछापालन गरिरहेको अनुमान गर्छन् । नगरपालिकामा मत्स्यपालन भनेर कुनै फर्म दर्ता नभएको कृषि फार्म अन्तर्गत माछापालन गरिरहेको पाइएको छ । नगरपालिकाले माछापालनको लागि नियमित बजेट छुट्याउँदैन । तर चालु आर्थिक वर्षमा माछाको भुरा वितरण लागि २ लाख छुट्टाएको छ । पशु प्राविधिक चौधरी भन्छन्, ‘३ वर्ष यता माछापालनको लागि केहि कार्यक्रम राखिएको छैन । यस वर्ष २ लाख भुरा वितरणको लागि बजेट छुट्याइएको छ।’ नगरपालिकाले ३ पटक माछा पसलको अनुगमन गरि प्रतिबन्धित मुङ्ग्री माछा बरामत गरी नष्ट गरेको थियो । पथरी, कीर्तिपुर, हसन्दह, शनिश्चरे बजारमा माछा बिक्री भइरहेको छ । ती वजारमा दैनिक ५० केजीभन्दा बढी माछा बिक्री भइरहेको छ । ‘माछापालन कृषकले निर्वाहमुखी परम्परागत तवरले गरेको पाइन्छ । माछापालनको राम्रो सम्भावना पनि छ ।’ पशु प्राविधिक चौधरीले भने, ‘माछापालन कृषकले अब व्यवसायिक तरिकाले माछापालन गर्नुपर्छ । हामी प्राविधिक सहयोग गर्दछौ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार