१. प्रस्तावना (Introduction)
नेपालको आदिवासी जनजातिहरूमध्ये धिमाल समुदाय एक ऐतिहासिक, सांस्कृतिक र भाषिक रूपमा विशिष्ट पहिचान भएको समुदाय हो । पूर्वी नेपालको तराई क्षेत्र (विशेषगरी झापा, मोरङ, इलाम, र सुनसरी) मा धिमालहरूको बसोबास धेरै पुरानो समयदेखि रहँदै आएको छ ।
वर्तमान अवस्थामा धिमाल समुदायले आफ्नो मौलिक भाषा, धर्म, संस्कृति र सामाजिक परम्पराको संरक्षणका लागि विभिन्न संगठनात्मक र संस्थागत पहलहरू गरिरहेको छ । सोही प्रयास अन्तर्गत धिमाल समुदायले आफ्ना ऐतिहासिक बस्तीहरूलाई “धिमाल विशेष स्वायत्त क्षेत्रहरू”को रूपमा पहिचान गर्न माग गर्दै आएको छ ।
२. अनुसन्धानको उद्देश्य (Objectives of the Study)
यस अनुसन्धान प्रतिवेदनको मुख्य उद्देश्यहरू यसप्रकार छन्–
1. धिमाल समुदायका प्रमुख बसोबास क्षेत्रहरू पहिचान गर्नु।
2. ती क्षेत्रहरूलाई “धिमाल विशेष स्वायत्त क्षेत्र”को रूपमा वर्गीकरण गर्नु।
3. स्वायत्त क्षेत्र स्थापनाको सामाजिक, सांस्कृतिक र प्रशासनिक आवश्यकता स्पष्ट पार्नु।
4. धिमाल पहिचान संरक्षणका लागि नीतिगत सिफारिसहरू प्रस्तुत गर्नु।
३. अनुसन्धान पद्धति (Research Methodology)
यो अध्ययन गुणात्मक (Qualitative) अनुसन्धान विधिमा आधारित छ।
मुख्य स्रोतहरू:
स्थानीय धिमाल बस्तीहरूका क्षेत्रीय अभिलेख,
गाउँ/नगरपालिकाका तथ्यांक,
धिमाल समाजका अगुवा र वृद्ध–वृद्धासँगका मौखिक साक्षात्कार,
फाँटमै गरिएको अवलोकन (Field Observation)।
सहायक स्रोतहरू:
धिमाल जातीय विकास केन्दका संस्थागत प्रतिवेदन,
स्थानीय सरकारी अभिलेख,
प्रकाशन र अध्ययन सामग्रीहरू।
४. अध्ययन क्षेत्रहरुको विवरण (Description of Dhimal Autonomous Areas)
४.१ दमक नगरपालिका (झापा)
धिमाल समुदायको ऐतिहासिक केन्द्र मानिने दमकमा हाल १५ वटा धिमाल डेरा/टोलहरू रहेका छन् । यहाँ धिमालहरूको सामाजिक मिलन, थान–पूजा, नाच–गान र परम्परागत संस्कारहरू अझै मौलिक रूपमा जोगिएका छन् ।
४.२ इलाम चुलाचुली गाउँपालिका
ईलामको चुलाचुली गाउँपालिकामा १ वटा हत्तिलेदा धिमाल डेरा रहेको छ, जसले पहाडी क्षेत्रमा पनि धिमालहरूको ऐतिहासिक उपस्थिति प्रमाणित गर्छ ।
४.३ कमल गाउँपालिका (झापा)
यहाँ ७ वटा धिमाल डेरा/टोलहरू रहेका छन् । कृषि, परम्परागत रीतिथिति र सामुदायिक सहकार्यमा धिमालहरू सशक्त छन् ।
४.४ उर्लाबारी नगरपालिका (मोरङ)
उर्लाबारीमा १९ वटा धिमाल डेरा/टोलहरू छन्, जुन संख्याका दृष्टिले सबैभन्दा बढी हो । धिमाल भाषा, भेषभूषा र गीत–संगीतको जीवन्त प्रयोग यहाँ पाइन्छ ।
४.५ रतुवामाई नगरपालिका (मोरङ)
यहाँ १ वटा धिमाल डेरा – भौरा ईटहरा रहेको छ । परम्परागत खेती प्रणाली र सामुदायिक जीवनशैली यसको विशेषता हो ।
४.६ पथरी शनिश्वरे नगरपालिका (मोरङ)
१४ वटा धिमाल डेरा/टोलहरू रहेका यस क्षेत्रमा धिमालहरूको धार्मिक तथा सामुदायिक एकता बलियो रूपमा विद्यमान छ ।
४.७ कानेपोखरी गाउँपालिका (मोरङ)
यहाँ ६ वटा धिमाल डेरा/टोलहरू छन् । धिमाल संस्कृतिको थान–पूजा, सालेङ पूजा र मौखिक परम्पराहरू यहाँ आज पनि जोगाइएका छन् ।
४.८ बेलबारी नगरपालिका (मोरङ)
बेलबारीमा १९ वटा धिमाल डेरा/टोल समिति रहेका छन् । यहाँका धिमालहरू शिक्षा, कृषि र सामाजिक विकासमा अग्रणी छन् ।
४.९ इटहरी उपमहानगरपालिका (सुनसरी)
यहाँ १ वटा धिमाल डेरा – बौकै झोरा रहेको छ । यो क्षेत्र सुनसरी जिल्लाको धिमाल उपस्थिति दर्शाउने प्रमुख बस्ती हो ।
४.१० माईपुर्ब विर्तामोड नगरपालिका (झापा)
यहाँ ४ वटा धिमाल गाउँ डेरा समिति छन् । व्यापार, बजार र सांस्कृतिक गतिविधिमा सक्रिय धिमालहरू यहाँ बसोबास गर्छन् ।
४.११ अर्जुनधारा नगरपालिका (झापा)
५ वटा धिमाल डेरा/टोलहरू रहेको यस क्षेत्रमा सामुदायिक संगठन र थान संरक्षण समितिहरू सक्रिय छन् ।
४.१२ बुद्धशान्ति गाउँपालिका (झापा)
४ वटा धिमाल डेरा/टोलहरू रहेका यस गाउँपालिकामा परम्परागत कृषि, लोकसंगीत र संस्कारहरू जीवित छन् ।
४.१३ मेचिनगर नगरपालिका (झापा)
नेपालको पूर्वी सीमा क्षेत्र मेचिनगरमा ९ वटा धिमाल डेरा समिति रहेका छन् । यो क्षेत्र सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।
५. विश्लेषण (Analysis)
धिमाल समुदायका यी बस्तीहरू भौगोलिक रूपमा एक–अर्कासँग नजिक छन् र सांस्कृतिक समानता बोकेका छन् । ती सबै बस्तीहरूमा धिमाल थान, धिमाल भाषा, परम्परागत पुजारी व्यवस्था, र सामूहिक निर्णय प्रणाली पाइन्छ ।
यी सबै विशेषताले यी क्षेत्रहरूलाई एकीकृत “धिमाल विशेष स्वायत्त क्षेत्र”का रूपमा विकास गर्न सक्ने स्पष्ट आधार प्रदान गर्छन् ।
६.निष्कर्ष
धिमाल विशेष स्वायत्त क्षेत्रको अवधारणा केवल भौगोलिक सीमितता होइन, यो धिमाल पहिचान, भाषा, संस्कृति र अधिकारको पुनर्जागरण हो ।
यदि यी क्षेत्रहरूलाई कानुनी रूपमा मान्यता दिई सांस्कृतिक–शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिए, भने धिमाल समुदायले आफ्नो मौलिक स्वरूपलाई दीर्घकालसम्म जोगाइराख्न सक्नेछ । यस अध्ययनले प्रमाणित गर्छ कि ।
“धिमाल विशेष स्वायत्त क्षेत्र” स्थापनाले स्थानीय शासन, सांस्कृतिक संरक्षण र आर्थिक सशक्तीकरणमा दीर्घकालीन प्रभाव पार्नेछ।
७. सिफारिस (Recommendations)
1. स्थानीय तहहरूमा “धिमाल सांस्कृतिक संरक्षण समिति” स्थापना गर्नुपर्छ।
2. धिमाल थान र परम्परागत मठ–मन्दिरहरूको नक्सा र अभिलेख तयार पार्नुपर्छ।
3. धिमाल भाषा शिक्षण कार्यक्रम प्राथमिक विद्यालयदेखि नै सुरु गरिनुपर्छ।
4. धिमाल स्वायत्त क्षेत्र स्थापनाका लागि प्रदेश र संघीय सरकारलाई सिफारिस गर्नुपर्छ।
सेउपाखा & दाेमचाखा
=== बाखिन्खा ===
- दमक–९, झापा, सानो अर्नाखाडी
(लेखक धिमाल जातीय बिकास केन्द्र खोज, अनुसन्धान, भाषा तथा संस्कृति विभागका प्र मुख हुन् ।- सम्पादक )


12 पटक हेरिएको 












