पथरी । सुशिला कन्दङ्वा मेमोरियल तेस्रो पथरी शनिश्चरे चेस च्याम्पियनसिप–२०८३ को तेस्रो दिन छैटौँ चरणको खेल सम्पन्न हुँदा साविक विजेता लोकसागर साम्बाले एकल अग्रता लिएका छन् ।
छैटौँ चरणसम्मका सबै ६ खेलमा शतप्रतिशत जित निकाल्दै लोकसागर ६ अंकसहित एकल अग्रस्थानमा रहेका छन् । उपाधि रक्षाको अभियानमा रहेका साम्बाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको दाबेदारीलाई बलियो बनाएका छन् । त्यस्तै, पुकार राई र निलम बस्नेतले समान ४ जित र २ बराबरीसहित ५ अंक जोडेका छन् । दुवै खेलाडीले अहिलेसम्म अपराजित प्रदर्शन गरेका छन् । अर्का प्रतिस्पर्धी सिद्धान्त कन्दङ्वाले ५ जित र १ हारसहित ५ अंक प्राप्त गरेका छन् ।
प्रतियोगिताको सातौँ चरणमा उपाधि होडलाई थप रोमाञ्चक बनाउने दुई महत्वपूर्ण भिडन्त हुँदैछन् । सातौँ चरणमा शीर्षस्थानका लोकसागर साम्बाले निलम बस्नेतसँग प्रतिस्पर्धा गर्नेछन् भने पुकार राई र सिद्धान्त कन्दङ्वाबीच अर्को महत्वपूर्ण खेल हुनेछ ।
सातौँ चरणका यी दुवै खेलले उपाधि प्रतिस्पर्धाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्नेछ ।
बुद्धिचाल संघ पथरी शनिश्चरे नगर समितिको आयोजनामा एभरेष्ट बोर्डिङ स्कुलमा भएको च्याम्पियनसिप आज सम्पन्न हुनेछ ।


14 पटक हेरिएको 










