पत्रकारहरूले देउसी–भैलो खेले

पथरी। तिहारको अवसरमा मोरङको पथरी शनिश्चरेमा क्रियाशील पत्रकारहरूको टोलीले नगरका विभिन्न सामाजिक, राजनीतिक, शैक्षिक तथा व्यावसायिक व्यक्तित्वहरूको निवासमा पुगेर बुधबार देउसी–भैलो खेलेका छन् ।

तिहारको सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पत्रकारहरूको टोलीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग देउसी–भैलोमार्फत शुभकामना आदानप्रदान गर्नुका साथै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरेको हो। टोलीले होटल साल्पाका सञ्चालक एवं बुद्ध टोल विकास समितिका अध्यक्ष अशोक साम्पाङ, पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना राई तथा सिड्लिङ मन्टेस्वरी स्कुलकी सञ्चालिका बिन्दु चेन्जोङ राई, वडा नं. ७ का वडाध्यक्ष उद्धव बस्नेत र हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं श्रम संस्कृति पार्टी पथरी शनिश्चरे नगर कमिटीका प्रमुख सल्लाहकार विकास मगरको निवासमा पुगेर देउसी खेलेको थियो। त्यसैगरी, नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीका अध्यक्ष सञ्जीव गिरीको निवासमा नेपाली कांग्रेस पथरी शनिश्चरे नगर सभापति सन्तोष कटवाल, सचिव श्री हाङ तथा कांग्रेस नेतृ कविता भण्डारी पराजुलीसँग संयुक्त रूपमा देउसी–भैलो खेलिएको थियो। राजनीतिक आस्था र विचार फरक भए पनि चाडपर्वले आपसी सद्भाव र सामाजिक एकता कायम गर्न सहयोग पुर्‍याउने सन्देश उक्त भेटघाटले दिएको सहभागीहरूले बताएका छन्।

यसैक्रममा पञ्चायत नमुना माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं सामाजिक व्यक्तित्व अर्जुन बुधाथोकी, लायन्स क्लबमार्फत सामाजिक कार्यमा सक्रिय गोमा पौडेल बुधाथोकी तथा नेपाली लोकगीत र संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टा महेश बुधाथोकीको निवासमा पनि टोली पुगेको थियो।त्यस्तै, पथरी शनिश्चरे–१ मा विगत ३५ वर्षदेखि बेकरी व्यवसायमार्फत छुट्टै पहिचान बनाउन सफल न्यू गोर्खाली पाउरोटी उद्योगका सञ्चालक एवं सामाजिक व्यक्तित्व तुलसी ढकालको निवासमा समेत देउसी–भैलो खेलिएको थियो।

पत्रकारहरूको टोलीले चाडपर्वको मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले देउसी–भैलो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।
देउसी–भैलो कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका सह सचिव प्रशान्त निरौला तथा महासंघका वर्तमान पदाधिकारीहरूको सहभागिता रहेको थियो। त्यसैगरी, जमर्को साप्ताहिकका प्रकाशक–सम्पादक एवं महासंघका पूर्वकार्यवाहक अध्यक्ष मोहन भट्टराई, निवर्तमान सूचना संयोजक सन्तोष राईलगायत पथरी क्षेत्रका विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सेवारो पोस्ट, रितम साप्ताहिक, पथरी अपडेट, निगरानी टाइम्सलगायतका सञ्चारमाध्यममा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरू देउसी–भैलो कार्यक्रममा सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार