पथरी । याक्थुङ (लिम्बू) समुदायको मौलिक पहिचान, भाषा, संस्कार र संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको चासोक तङनाम–२०८३ को प्रचारप्रसारलाई यसपटक फरक शैलीमा अघि बढाइएको छ।
आगामी पौष ६ देखि ९ गतेसम्म पथरी शनिश्चरेस्थित सिरिजङ्गा धार्मिक वनमा चार दिनसम्म सञ्चालन हुने चासोक तङनाम (तकसोक/थिसोक) कार्यक्रमको प्रचारप्रसारका लागि आइतबार सामुदायिक पोसाक, परम्परागत गरगहना, सिरबन्दी र कन्ठा लगाएर फोटोसुट तथा भिडियो कन्टेन निर्माण गरिएको कार्यक्रम संयोजक गणेश थक्लुङले जानकारी दिए । मौलिक पहिचान झल्काउने पोसाक र गरगहनासहित तयार पारिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचारप्रसार गरिने/गरिएको संयोजक थक्लुङको भनाइ छ। अहिले तयार पारिएको कन्टेन फेसबुक, इन्स्ट्राग्राम, टिकटक, रिल्स राखिएको पाइन्छ । संस्कृति संरक्षणको अभियानलाई नयाँ पुस्तासम्म पुर्याउने र कार्यक्रमप्रति आकर्षण बढाउने उद्देश्यले यस्तो प्रचार शैली अपनाइएको हो।
किरात याक्थुङ चुम्लुङ, पथरी शनिश्चरे नगर शाखाको आयोजना तथा सिरिजङ्गा धार्मिक वन, पथरी शनिश्चरेको सहआयोजनामा हुने कार्यक्रममा ऐतिहासिक मेला, परम्परागत खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
चासोक तङनाम–२०८३ को अवसरमा याक्थुङ लिम्बू समुदायका मौलिक सांस्कृतिक प्रस्तुति के:लाङ र या:लाङसँगै छेलो, धनुकाँण तथा भलिबल प्रतियोगितासमेत आयोजना गरिनेछ।
आयोजकले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन समाजसेवी, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहनुभएका सहयोगी दाताहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोगका लागि हार्दिक अपिल गरेको छ। आफ्नो मौलिक पहिचान र संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा प्रवर्द्धन गर्ने साझा अभियानका रूपमा चासोक तङनामलाई सफल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको आयोजकको भनाइ छ।


36 पटक हेरिएको 











