शिवसताक्षी (झापा) । दोस्रो याक्थुङ ज्ञान महोत्सव २०७९ शुक्रबारदेखि सुरु भएको छ ।
भोलि (शनिबार) सम्म शिवसताक्षी नगरपालिका-८, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले झापामा सञ्चालन हुने महोत्सबलाई किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले च्याबुङ बजाएर उद्घाटन गरेका छन् । बौदिक ज्ञान आदान प्रदान र पुस्तान्तणका लागि भन्ने नाराका साथ याक्थुङ युवा मञ्च केन्दिय कार्य समितिको आयोजना र याक्थुङ युवा मञ्च झापा जिल्लाको व्यवस्थापनमा महोत्सब आयोजना भएको हो ।
उद्घाट सत्रपछि बालकृष्ण माबुहाङले उच्च शिक्षामा लिम्बु समुदाय शिर्षकमा मुख्य प्रवचन व्यक्त गरे । त्यसपछि मुक्कुम्लुङमा संरक्षण र अतिक्रमण शिर्षकमा राम मादेन, याक्थुङ स्थान नाम शिर्षकमा प्राज्ञ दिलेन्द्र कुरुम्बाङ, लिम्बु लोक संस्कृति शिर्षकमा मधु केरुङ, लिम्बु मौलिक भेषभुष र सौन्दर्यता शिर्षकमा विक्रम फागोको प्रस्तुति रहेको थियो । यसगरी लिम्बु महिलाको सहभागिता र पहुँच शिर्षकमा टंक माया तिगेला, लिम्बु समाजमा युवाहरुको उदरदायित्व शिर्षकमा सन्ध्या सुब्बाको प्रस्तुति रहेको थियो भने मुन्धुम मन्थन शिर्षकमा जितेन पन्धाक प्रस्तोता र पदम चेन्जी मावो, हरि हुक्पा चोङबाङ र डीबी आङबुङ बक्ताहरु रहेको थियो ।
भोलि(दोस्रो दिन) लिम्बु चलचित्रको अवस्था, लिम्बु भाषाको अवस्था, सम्भावना र चुनैतिहरु, सिक्किममा लिम्बु भाषा उच्च शिक्षा, लिम्बुवान आन्दोलन, प्रथाजनिक भूमि अधिकार, याक्थुङबा, किरात, लिम्बु हामी को हौं, सिक्किममा याक्थुङ मुन्धुमको अभ्यास, याक्थुङ मुन्धुम, भाषा र संस्कृतिले दर्शाउने लिम्बु तथा लिम्बुवानी पहिचानमा छलफल गरिने भएको छ ।
समाजको विविध पक्षको ज्ञानहरु युवा पुस्तामा पुस्तान्तरण गर्न प्रयास र अभ्यास गर्ने, साझा विषयमा बौद्धिक छलफल, बहस, प्रस्तुति र दस्तावेजिकरण गन, विश्वव्यापी रुपमा रहेको लिम्बू समाजको बारे साधन, स्रोत, ज्ञान, सूचना र अनुभवहरु आदान-प्रदान गर्दै युवापुस्तालाई प्रोत्साहित गर्न प्रयत्न गर्ने, सामाजिक, आर्थिक, राजनीतिक विषयवस्तुमा समीक्षा, वैचारिक मन्थन गर्ने र युवा पुस्तामा जागरण सिर्जना गर्ने उद्देश्यको साथ महोत्सबको आयोजना गरेको मञ्चले जनाएको छ ।
ज्ञान महोत्सवले विशेष गरी युवा पुस्तालाई आफ्नो मौलिकता चिनाउन र बुझाउन मद्दत गर्ने साथै बौद्धिक ज्ञान पुस्तान्तरणका लागि सहयोग पुर्याउने याक्थुङ युवा मञ्चका अध्यक्ष प्रज्ञा इजम बताइन् । महोत्सवको अनुमानित खर्च चार लाख रूपैयाँ रहने आयोजकले जनाएको छ ।
यस अघि याक्थुङ युवा मञ्चले २०७६ साल जेठ २४ र २५ गते काठमाण्डौंमा प्रथम याक्थुङ ज्ञान महोत्सवको आयोजना गरेको थियो ।


155 पटक हेरिएको 











