ललितपुर । साहित्यकार पुष्पहाङ लोवाको कथासंग्रह ‘मना लाङ्योःक्खा’ (मानिसका पाइलाहरू) सार्वजनिक भएको छ । शनिबार याक्थुङ प्रज्ञा प्रतिष्ठानका उपकुलपति लच्छामीकुमार सेर्मा, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङबुङ, गायक भगत सुब्बा, नेता श्रीप्रसाद जबेगुले ललितपुरमा आयोजित समारोहमा सो कथासंग्रह सार्वजनिक गरेका हुन् । किरात याक्थुङ चुम्लुङ जापानले प्रकाशित गरेको कृतिलाई द मार्जिन मिडियाको आयोजनामा सार्वजनिक गरिएको हो ।
कृतिबारे समीक्षा गर्दै साहित्यकार स्वप्निल स्मृतिले २०१८ सालदेखि लिम्बू भाषामा आधुनिक कथालेखन सुरु भएको बताए । सार्वजनिक गरिएको ‘मना लाङ्योःक्खा’ कथासंग्रह लिम्बू मानकभाषामा स्तरीय लेखन रहेको उल्लेख गरे। ‘सामाजिक, सांस्कृतिक, राजनीतिक विषयवस्तु समेटिएको यो कथासंग्रहले याक्थुङ (लिम्बू) साहित्यलाई नयाँ मोडतर्फ डोर्याएको छ,’ उनले भने, ‘समाजमा भूइँतहमा रहेका पात्रहरू, दबिएका, थिचिएकाहरूको कथा रहेका छन् ।’ समीक्षक भिमा खजुम मुसुमले संग्रहित कथाले लिम्बू जाति, संस्कृति, परम्परा, परिवर्तनशील समय, जनविश्वास र आधुनिक पुस्ताप्रति सचेतनाका विषय उजागर भएको बताइन। समालोचक मलिसा याक्थुम्बाले कथाले लिम्बुवान भूमिको माटो बोकेको उल्लेख गरे । ‘कथामा लिम्बुवानको माटोको सुगन्ध छ । मुन्धुम संस्कार संस्कृतिमात्र होइन पहिचानलाई जीवन्त तुल्याएको छ ।’ उनले भने । साहित्यकार निशेष आङदेम्बे, विष्णु सिंगक, आशा नेम्वाङलगायतले पनि लिम्बू भाषा साहित्यबारे आफ्ना धारणा राखेका थिए ।
सिरिजङ्गा लिपिका माध्यमबाट लिम्बू भाषामा लिखित संग्रहमा १२ वटा कथा छन् । पाँचथरमा रहेर मातृभाषा साहित्य सिर्जना अभियानमा संलग्न साहित्यकार लोवाको यसअघि ‘तङअम्भुङ’ र ‘याग्राङसिङ’ कवितासंग्रह प्रकाशित छन्


807 पटक हेरिएको 












