-भूपेन्द्र खुदाङ लिम्बू
हिउँद्को महिना चिसो तर बिहान झुल्कन्दो घामसँगै दिनतिर समय लाग्दा वारीपारि देखिन्ने गाउँ र सडक, विजुली बत्तीको लहरहरुले फेरेको विकास तरेलीहरु र सम्भावनाहरु देख्दा एक्दमै रमाइलो र न्यानो अनुभव हुन्थ्यो ।
यसपाली माघको दोस्रो सातातिर एउटा दुःखद् काम सुद्धाईको काममा बुरुमखिम गाउँ पुगेको थिएँ । तत्कालिन माओवादी द्वन्द्वकालको समयमा गाउँ छोड्नु परेको थियो । यसको एउटा छुट्टै कथा छ । करिब २२ वर्ष पछि गाउँ पुगेको थिएँ । गाउँ धेरै फेरिएछ । गाउँले दुई दशकमा फेरेको रुपको थोरै कथा यो छोटो संस्मरण लेखमा ।
एक जना प्रसिद्ध अमेरिकी अर्थशास्त्री तथा विकास सिद्धान्त विचारक Walt Whitman Rostow का भनाई अनुसार “Transport facilities, especially roads, are a precondition for economic take-off.” (यातायात सुविधा, विशेषगरी सडक, आर्थिक उडानका लागि पूर्वसर्त हो ) । उनको भनाई झैँ सडक सञ्जालले जोडेसँगै बुरुमखिम गाउँले फक्रिन्दो मुहार फेरेको अनुभव गर्न सकिन्छ ।
हिजोको पुस्ताले सिक्किमको विजनबारी, इलामको बिब्ल्याटेबाट नुुन, चामल बोकेको कुरा सुन्ने हाम्रो पुस्ताले पाँचथरको गोपेटार, मेदिबुङ, थर्पु, दाहाल गाउँबाट नुन, चामल लगायतको खाद्यन्न बोकेको अनुभव छ । तर करिब १५ वर्षको दैरानमा गाउँ गाउँमा सडक सञ्जाल जोडिएको पाउँदा ती सबै कुरा कथा बन्दो रहेछ ।
सधैँ भन्दा यसपाली अलौँचीले भाउ पाए छ । पारी तोक्तोके भिरबाट दाउरा घाँस गर्ने हाम्रो दौतारी कोही पनि त्यो गाउँमा बसनौँ रैछौँ । गाउँको लाठेहरु धेरै विदेशीए छन् । गाउँको काठहरु गोलियाको नाममा तल तराईको सहरहरुमा ट्रकमा आउँदो रहेछ । गोलिया निकाल्ने क्रममा माथि केराबारी देखि फुरुम्बा, रातमाटेसम्म ट्याकटर बाटो पुगेको रहेछ र गोलियाको राम्रो व्यापार चलेको रहेछ । गाउँको स्कूलको स्तर उन्नती भएको रहेछ । बाटो पुगेसँगै आर्थिक सम्भावना बढ्दा जनसंख्या पलायन हुनेबाट बचाएको रहेछ । यसपालीको हिउँदामा गाउँका अग्रजहरुसँग हिजोको यस्तै यस्तै सुख दुःखको कुराहरु गरियो ।
गाउँको परिचय ः
बुरुमखिम गाउँ नेपालको पूर्व पहाडि जिल्ला ताप्लेजुङको सिदिङ्बा गाउँपालिकाको ७ नम्बर वडामा पर्छ । स्थानीय तहको विभाजन पूर्व यो ठाउँलाई साविक सुरुमखिम गाविस र यसको गाउँहरुको नामले चिनिन्ने गरिन्थ्यो । सदरमुककाम फुङ्लिङबाट पूर्व भागमा र भारतको सिक्किम राज्यसँग जोडिन्छ । सुरुमखिम गाविस हुँदाको बखत नजिकको गाविसहरु पूर्वमा कालिखोला, दक्षिण पश्चिममा मेहेले, पश्चिममा खेबाङ, उत्तरमा याम्फुदिन, पूर्व उत्तरमा सिक्किमको सिमाना रहेको छ । यसै ठाउँमा धार्मिक स्थल तिम्बु पोखरी पनि अवस्थित छ । सिदिङ्बा ७ नम्बर सुरुमखिमको पूर्व एउटा सुन्दर बस्ती रहेको छ ‘बुरुमखिम’ । यो ठाउँ बुरुमखिम कसरी नाम रहन गयो भन्ने हालसम्म यकिन् तत्यहरु पाइएको छैन् तर सुरुवाती समयमा यस क्षेत्र खुदाङ लिम्बूहरु सुब्बाहरु खर्क र चरणको भागचलन गर्नु पुगेकोले लिम्बू भाषाको नाम पनि हुनसक्ने अनुमान गर्न सकिन्छ ।
बुरुमखिम गाउँमा लिम्बू जातिको खुदाङ, न्याउरम्बासँगै तामाङ, गुरुङ, राई, बानियाँ क्षेत्री, बाहुन र केही विश्वकर्माहरुको बसोबास रहेको छ ।
यहाँ केराबारी, काइँङ्बा, गुरुङ गाउँ, बानियाँ गाउँ, गोपेनी, डाँडा घर, ठूलो घर, माथिल्लो गाउँ, सिकारी डाँडा, तीनधारे, गैरी, टारी, भञ्ज्याङ, ढाँड गाउँ, तितुङ् ढाँड, भर्लाबोट, मानेडाँडा, चक्रेडाँडा, सुब्बा डाँडा, अम्बटार, हिरिङ्टार आदि स्थानीय नामहरु रहेको छन् । छिमेकी पारीपट्टिको गाउँहरुमा सुरुमखिम, तुम्माङखे, कालिखोला छन् ।



सडकसँगै जोडिएको बुरुमखिम गाउँ
सुरुमखिम, बुरुमखिम गाउँमा पुग्नलाई सडक मार्गबाट २ वटा विकल्पहरु छन् । पहिलो मेची राजमार्गको थर्पू–साब्लाखू, मेहेल–सुरुमखिम हुँदै बुरुमखिम र अर्को विकल्प थर्पू–दाहाल गाउँ–सिनाम– आम्बिदिन– हप्पु खोला– मेहेले –बाँकेटार– टावाटार– सुरुमखिम हुँदै बुरुमखिम । यो दुबै रुटबाट करिब ४० किमि दुरीमा पर्छ । यो दुबै बाटोहरु आपसमा जोडिन्दा माला आकारको रिङ रोड बन्छ । साप्लाखु रुटमा कन्चनजङ्गा संरक्षण क्षेत्र इन्ट्रि रुट भनी पिचरोड बन्ने काम चलिरहेको रहेछ । अर्को तर्फ सिनाम तर्फको रुटमा सिरिजङ्गा गाउँपालिका पर्ने भएकोले र सँगैको माथिल्लो गाउँहरु धेरै भएको हुनाले यस तर्फ पनि रोडको स्तर उन्नती कार्यहरु अघि बढारहेको देखिन्छ । सिनाम–आम्बिकिदिन–तेल्लोक– खेबाङ– मामाङखे –याम्फुदिन रुटमा राज्य शक्ति, सत्तासँग जोडिन्ने नेताहरुको घर र क्षेत्रहरु पर्ने हुँदा यस रुटले पनि चाँडै सडकको स्तर उन्नति हुने सम्भावना बोकेको छ ।

गाउँमा सडक आउने कुरा करिब २ दशक अघि हामी सामान्य कल्पना पनि गर्न सक्दैनौँ थियौँ । केन्द्रिकृत राज्य सत्ताको यो क्षेत्रलाई देख्नलाई लामो टेलिस्कोप या दुर्विनको प्रयोग मात्र गर्ने गाउँ थियो । द्वन्दकालको विद्रोही फौजीको आधार इलाकाको रुपमा चिनिन्ने यो गाउँ, ठाउँले लामो सङ्घर्षहरु गरेको, भोगको इतिहास छ । आज काठमाडौँले मात्र शासन गर्नु पर्छ भन्ने केन्द्रिकृत चेत बोक्ने नयाँ भनाउँदाको नेतृत्वहरुले विकेन्द्रिकरणलाई खण्डित र बोझ देख्छ । तर राज्य सत्ता सञ्चालनमा सङ्घीयता र स्थानीय संरचनाले भौगालिक रुपमा ग्राउन्ड लेभल र जनस्तरमा प्रत्यक्ष सरोकार राखेर चौतफि विकासको काम गर्छ भन्ने चेत छैन् । सहरमा जन्मे, हुर्केर सहर र विदेश मात्र देख्ने नयाँ पुस्ताले गाउँ, गाउँको सङ्घर्षको कथा बुझ्नु सक्दैनन् ।
बुरुमखिमको विकास यात्रा हेर्दा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ—यदि स्थानीय सरकार नआएको भए के आज यो परिवर्तन सम्भव हुन्थ्यो ?
नेपालमा संघीय संरचना लागू भएपछि स्थानीय तहले विकासको केन्द्र गाउँसम्म पु¥याएको छ । सडक, विद्यालय, खानेपानी, स्वास्थ्य, कृषि, पूर्वाधारजस्ता विषयमा स्थानीय सरकार प्रत्यक्ष जिम्मेवार बनेपछि विकासको गति उल्लेखनीय रूपमा बढेको देखिन्छ ।
यद्यपि संघीयताको आलोचना गर्ने आवाज पनि सुनिन्छ । तर दुर्गम गाउँका बासिन्दाको दृष्टिकोणबाट हेर्दा संघीयता केवल राजनीतिक व्यवस्था होइन; विकासलाई स्थानीय आवश्यकतासँग जोड्ने माध्यम पनि हो ।


सडकले देखाएको आर्थिक विकासको सम्भावना
मुख्य रुपमा सडक सञ्जालले तराई र गाउँलाई जोडेको देखिन्छ । यहाँको मानिसहरु प्रायः तराई झापासँग प्रत्यक्ष जोडिएका हुन्छन् । सडक पुगेसँगै अलैँची विस्तार र विकास बढको छ । गोलिया काठले भाउ पाउने बजारसम्मको यात्रा गर्नु सक्ने भएछ । किवि, चियाको खेती बढिरहेको छ । नयाँ सम्भावनाहरु खोज्दै बुद्धचित र रुद्राक्ष विरुवाको रोपन पनि सुरु भएको छ ।
अब देखिएको सम्भावना भनेको तरकारीहरु राम्रो उत्पादन हुने क्षेत्र हो । यहाँ साग, स्कुस, फर्सी, बोढी, मस्याम, भट्मास, आलु राम्रो उत्पादन हुने ठाउँ हो । यस्तै विशेष गरी अकबरे डल्ले खुर्सानी, कागती, अम्लिसो राम्रो व्यवसायीक उत्पादन गर्न सकिन्छ । चौरी गोठ व्यवसायीकता गरिरहेको यो क्षेत्रमा थप बाख्रा, भेडा, कुखरा पनि व्यवसायीक उत्पादन गर्न सकिन्छ ।
विजुली र सञ्चार प्रसारण
विजुली सडकसँगै पुगेको छ । पहिला स्थानीय स्तरमा गाउँलाई पुग्ने लाईनहरु स्थानीय खोलाहरुबाट उत्पादन थियो । तर अहिले केन्द्रीय लाइन पुग्दा पारी तुमाङखे, पिङडाँडा झापाबाट माथि हेर्दा देखिन्ने दार्जिलिङ र खार्साङको झझल्को दिने गरी उज्यालो हुँदो रहेछ । वारी पारी झल्लमल्ल । खोलाहरुमा झोलेको मिनि हाइड्रोहरु सारै धेरै मौलाएको रहेछ । यसमा स्थानीयलाई शेयर राम्रै वितरण गरे त राम्रै हुनेछ ।
सञ्चारको लागि इन्टरनेट सुविधा नपुगे पनि नेपाल टेलिकमको टावर पारी पट्टि डाँडामा राखिएको रहेछ र अत्यन्तै राम्रो नेटवर्क प्रसारण भइरहेको देखियो । प्रायः सबैले डाटा खरिद गरेर भएपनि सामाजिक सञ्जालहरु चलाइरहेको देखिन्थ्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता बढेसँगै गाउँ, ठाउँहरु एक्सप्लोर भइरहेको छ ।
बुरुमखिम आधारभूत विद्यालय

बुरुमखिम आधारभूत विद्यालयको पुरानो भवन हालका United World School (UWS) को सहयोगमा आठ कोठे नयाँ विद्यालय भवन र शौचालयको निर्माण कार्य हालैमा सम्पन्न भएको रहेछ । यही संस्थाले शैक्षिक सामाग्री र विद्यार्थीहरुलाई आवश्यक आधारभूत सामाग्रीहरु सहयोग गर्दै आएको रहेछ । यो संस्थले दुर्गम तथा शिक्षाबाट वञ्चित बालबालिकालाई गुणस्तरीय शिक्षामा साहयता उपलब्ध गराउँदै आएको छ ।
शैक्षिक व्यवस्थापनमा धेरै सुधार र सुविधा विकास भएको यो विद्यालयमा हामी धेरैले शिक्षाको सुरुवात गरेको थियौँ । भूपू विद्यार्थी मञ्चको तर्फबाट बन्दै गरेको खेल मैदान यसै विद्यालयको प्राङ्गणमा निर्माणाधीन अवस्थामा छ । यसमा खास गरेर विद्यालयमै अध्यापनरत दिपेन्द्र न्याउरम्बा सरले बेला बेलामा सामाजिक सञ्जाल मार्फत अपडेट दिँदै आइरहनु भएको छ । विद्यालयको भौतिक व्यवस्थापनसँगै शैक्षिक गुणस्तर सुधारिएको अवस्था पाउन सकिन्छ ।
गाउँमा एकिकृत समाधिस्थल नहुँदाको समस्या :

दुःखद् पक्ष चिहानै चिहानको गाउँ बन्नु पुगेको रहेछ । यो ठाउँमा लिम्बू जातिको खुदाङ थरीको अलि बढि बसोबास रहेको स्थान हो । यहाँ पहिला चिहानडाँडाको रुपमा प्रयोग गर्दै आएको समाधिस्थल भएको ठाउँमा चिहान राख्दै जाँदा सिधिएपछि वैकल्पिक स्थानको विकास नहुँदा आ–आफ्नो स्वमित्वमा रहेको जग्गा रहेको स्थानमा समाधिस्थल बनाउने चलन बढेको रहेछ । जसले गर्दा गाउँमा पछिल्लो समय चिहानै चिहानको गाउँ बन्नु पुगेको देखिन्छ । पार्यवरणीय हिसाबले र परम्परागत चलनहरुलाई ध्यान दिने हो भने यसमा समुदायको चासो आवश्यक देखिन्छ ।
फेरिएको माने डाँडाको स्वरुप :


माने डाँडाले धार्मिक सहिष्णुता त ग्रहण गरेछ तर आफूलाई कुर्बान दिएर । यो गाउँको छेउतिर तर केन्द्रविन्दुमा रहेर वारिपारिको गाउँलाई सोभादिने गरी बिच भागमा उभिएर बसेको ठाउँ थियो –मानेडाँडा ।
आज मानेडाँडाको स्वरूप फेरिएको छ । यहाँ माङहिम निर्माण भएको छ, चर्च स्थापना भएको छ, मोटरबाटो पुगेको छ र विभिन्न संरचनाहरू बनेका छन् । यी परिवर्तनले धार्मिक स्वतन्त्रता र सहिष्णुताको सुन्दर सन्देश दिएको छ । एउटै स्थानमा विभिन्न आस्थाका मानिसहरूले आ–आफ्नो विश्वासको अभ्यास गर्न पाउनु नेपालको बहुसांस्कृतिक समाजको सकारात्मक पक्ष हो ।
तर विकासको अर्को पक्ष पनि छ । सडक विस्तार र संरचना निर्माणका क्रममा भएको अत्यधिक माटो कटानले डाँडाको प्राकृतिक स्वरूपमा उल्लेखनीय परिवर्तन ल्याएको देखिन्छ ।
राम्रो बनाउने नाममा माटो कटान गरी केही संरचनाहरु बनाइएको रहेछ । आफूलाई कुरुप बनाएपनि धार्मिक सहिष्णुता देखाइरहेको रहेछ माने डाँडाले । यसमा सम्बन्धीत सरोकारवालाहरुले अलि गहन अध्ययन गर्नु जरुरी थियो की ? भन्ने आम चासो रहेछ ।
गाउँमा राजनीति र धर्म
बुरुमखिम गाउँमा राजनीतिक यस पटक खासै परिवर्तन देखिएन । यहाँ मुख्य दलको रुपमा काङ्ग्रेस, एमाले, नेकपा नै मुख्य हुन् । तर केही युवाहरुमा भने श्रम संस्कृति पाटी (माटो) र रासपाको प्रभाव देखियो । समग्र ती क्षेत्रको गाउँको माहोल बुझ्दा खासै नयाँ भन्नेहरुको प्रभाव नपुगेको बुझिन्थ्यो ।
धार्मिक आस्थामा विभिन्न प्रकारको आस्थावान भएतापनि गाउँमा सबैले मिलिजुली चाडपर्व, उत्सवहरु मान्ने गरेका छन् । गाउँको साझा हितका विषयमा सबै समुदाय मिलेर काम गर्ने परम्परा अझै जीवित छ ।
पछिल्लो प्रभावमा चर्चहरुको सङ्ख्या बढेको र आस्थावानहरु पनि बढेको पाइन्छ । तर किरात, हिन्दु, बौद्ध पनि उतिकै मात्रमा रहेका छन् । माने डाँडालाई धार्मिक हब बनाएका छन् ।
गाउँले फेरेको आशा भनेकै विकाससँगैको निकास :
गाउँले सडक जोडिएसँगै धेरै आशाहरु पूरा गरेको देखिन्छ । पलायन भइरहेको युवाहरुलाई आर्थिक विकाससँग जोडने, सभावना र भरोसा दिलाउने गाउँ बन्दै गरेको देखिन्छ । गाउँ छोडेकालाई आमन्त्रण गरिरहेको छ । र अन्तत् ः सुन्दर बुरुमखिम गाउँले आधारभूत विकाससँगै सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक चेत निर्माण गर्दै पलायन बस्तीहरुलाई रोक्ने निकास खोजिरहेको छ ।
अन्त्यमा,
सम्झाना नै सम्झानाका कुराहरु :
गाउँ हाम्रो जीवनको आधार, पहिचान र भावनासँग जोडिएको एउटा अमूल्य स्थान हो । जहाँ हामीले बाल्यकाल बिताएका हुन्छौँ, जहाँका प्रत्येक बाटा, चौतारी, खोला, पाखा, खेतबारी र आफ्ना मानिसहरूसँगका स्मृतिहरू जीवनभर मनमा ताजा रहिरहन्छन् । समयसँगै मानिसहरू अध्ययन, रोजगारी वा अन्य कारणले गाउँ छोडेर शहर वा विदेशतिर जान बाध्य हुन्छन्, तर गाउँको सम्झना कहिल्यै मेटिँदैन । बरु समय बित्दै जाँदा ती स्मृतिहरू अझ गहिरा र मूल्यवान बन्दै जान्छन् ।
गाउँको सम्झना गर्दा सबैभन्दा पहिले बाल्यकालका रमाइला दिनहरू आँखाअघि आउँछन् । साथीभाइसँग मिलेर खेलेका खेलहरू, विद्यालय जाँदा हिँडेका गोरेटो बाटाहरू, मेलापात, चाडपर्व र विभिन्न सामाजिक गतिविधिहरू जीवनका अमूल्य क्षण हुन् । गाउँमा बिताएका ती दिनहरू सरल, सहज र खुसीले भरिएका हुन्थे । आधुनिक सुविधाहरू कम भए पनि मानिसहरूबीचको आत्मीयता, सहयोग र सद्भाव निकै बलियो हुन्थ्यो । एकअर्काको दुःख–सुखमा साथ दिने संस्कार गाउँको विशेषता हो ।
गाउँको प्राकृतिक सौन्दर्य पनि सम्झनाको महत्वपूर्ण पक्ष हो । हरियाली वनजंगल, चरा–चुरुङ्गीको मधुर आवाज, कलकल बग्ने खोलानाला, रमणीय पहाड र स्वच्छ हावाले गाउँलाई विशेष बनाउँछ । बिहानको सुनौलो घाम, खेतबारीमा काम गरिरहेका किसानहरू र साँझको शान्त वातावरणले मनलाई आनन्दित बनाउँछ । शहरको भीडभाड र व्यस्त जीवनमा बस्दा गाउँको त्यो शान्त र सुन्दर वातावरणको झन् बढी सम्झना आउँछ ।
गाउँका चाडपर्व र सांस्कृतिक परम्पराहरू, सांस्कृतिक गतिविधिहरूले आफ्नो जरा सम्झाइरहन्छ । गाउँका मानिसहरूको आत्मीय व्यवहार पनि बिर्सन सकिँदैन । छिमेकीहरूबीचको सद्भाव, सहयोग र सम्मान आजको व्यस्त र प्रतिस्पर्धात्मक समाजमा यस्ता मानवीय सम्बन्धहरू दुर्लभ बन्दै गएका छन्, त्यसैले गाउँको सम्झना झन् विशेष लाग्छ ।
समय परिवर्तनसँगै गाउँहरूमा पनि धेरै परिवर्तन आएका छन् । सडक, शिक्षा, सञ्चार र अन्य पूर्वाधारको विकासले गाउँको जीवनशैली परिवर्तन हुँदै गएको छ । यद्यपि, पुराना सम्झनाहरू, बाल्यकालका अनुभवहरू र गाउँसँग जोडिएका भावनाहरू भने सधैं मनमा रहिरहन्छन् । गाउँ छाडेर केही पर पुगकाहरु हामी सबैको लागि बुरुमखिम गाउँ केवल एउटा भौगोलिक स्थान मात्र होइन, हाम्रो पहिचान, संस्कृति र जीवनका सुन्दर स्मृतिहरूको केन्द्र पनि हो ।
पहाडहरू कहिल्यै बोल्दैनन्, तर उनीहरूले इतिहास सम्झिरहेका हुन्छन् । खोलाहरूले कुनै डायरी लेख्दैनन्, तर उनीहरूले पुस्तौँको कथा बगाइरहेका हुन्छन् । गाउँहरू कहिल्यै शहरजस्तो ठूलो आवाज गर्दैनन्, तर उनीहरूले एउटा सभ्यताको धड्कन जोगाइरहेका हुन्छन् । बुरुमखिम त्यस्तै एउटा गाउँ हो—जहाँ समयले धेरै कुरा बदलेको छ, तर माटोको सुगन्ध र स्मृतिको ताप अझै उस्तै छ ।
२०८२ फागुन १४ गते
नोट ः
फोटो स्रोत व्यक्तिहरु ः दिपेन्द्र न्यउरम्बा, मन कुमार खुदाङ, जीतमान तामाङ ।
(छोटो टिप्पणीको रुपमा प्रस्तुत संस्मरण लेख)


18 पटक हेरिएको 












