किरात राई यायोक्खाप्रति प्रश्न गर्नु र सुझाव दिनु म मित्र समुदायको व्यक्ति भएको हिसाबले उपयुक्त होला, नहोला । त्यो आफ्नो ठाउँमा छ । तर अहिले पहिचानको लागि भइरहेको आन्दोलनमा हामीसँगै उभिएका छौँ । यसैले प्रश्न गर्नु र सुझाव दिनु उपयुक्त नै होला भन्ने मैले ठानेको छु ।
नामकरणको सवालमा संयुक्त आन्दोलन भइरहँदा राई, लिम्बु लगायत अन्य विभिन्न समुदायका पहिचानवादी, पहिचानप्रेमी व्यक्तिहरू सडकमा सशक्त गरि उत्रिरहनु भएको छ । सबै प्रति सम्मान छ। संयुक्त आन्दोलनले ढिलोचाँडो कोशी खारेज गर्छ, गर्छ त्यसमा दुईमत छैन । तर त्यसपछि के त??
मलाई जहाँ सम्म लाग्छ संयुक्त आन्दोलनको मिलान बिन्दु भनेको “लिम्बुवान किरात”/”किरात लिम्बुवान” नै हो । नामकरणमा किरात छुट्नु अथवा लिम्बुवान छुट्नु भनेको प्रदेश लामो समयसम्म आन्तरिक द्वन्द्व तिर धकेलिनुका साथै हाम्रो समुदाय बिचको सद्भावमा खलल पुग्नु नै हो । यसले राई, लिम्बु समग्रमा प्रदेशबासीलाई नै नकारात्मक असर पर्दछ । किरात राई यायोक्खाका मूल टोलीले यति किन नबुझ्नु भएको? आन्दोलनको मिलान बिन्दुबाट टाढा रहेर आफ्नो हरेक कार्यक्रमहरूमा किन “लिम्बुवान किरात”/”किरात लिम्बुवान” प्रदेश लेख्नुको सट्टा “किरात प्रदेश” लेखिरहनु भएको छ? तँपाईहरूको यो कामले यो चलिरहेको आन्दोलनलाई के अझै सशक्त बनाउला? कि कमजोर बनाउँछ?? आत्मालोचना गर्न जरुरी छ । लाजेहाङ लिम्बुले “किरात लिम्बुवान”/”लिम्बुवान किरात” भन्दा भन्दै आफ्नो ज्यान गुमाए । के यो साहदत व्यर्थैको लागि हो? के यो सहादत अरुण पूर्व जिल्लाका लागि मात्रै थियो? म किरात यायोक्खाका साथीहरूलाई प्रश्न गर्न चाहान्छु ।
किरात राई यायोक्खालाई प्रश्न गर्दैगर्दा राई समुदाय प्रति मेरो कुनै गुनासो छैन । हामी नेतृत्व बाहेककाहरू त मिलेरै आन्दोलनमा होमिएका छौँ । तर यो राजनीतिक परिघट्नाको ऐतिहासिक मोड तिर आउँदै गर्दा तँपाई र हाम्रो नेतृत्वको लिँडे ढिपिले हाम्रो समुदाय अक्करे भिरबाट खसेर दुर्घटित नहोस् भन्ने लागेको मात्रै हो । किरात राई यायोक्खा प्रदेश नम्बर १ समितिद्वारा आयोजित साकेला समापन तथा प्रदेश न. १ पुन:नामाकरण सांस्कृतिक आन्दोलनमा टाङ्गिएको व्यानरमा “किरात लिम्बुवान”/”लिम्बुवान किरात” हुनुको सट्टा “किरात” मात्रै किन छ ??
आन्दोलन सशक्त रुपमा उठिरहँदा यस्ता लिँडे ढिपिले आन्दोलन कमजोर बन्छ। आन्दोलनमा सहभागी समुदायबीचको एकतामा खलल पुग्छ भन्ने हेक्का किरात राई यायोक्खालाई छ कि छैन?
अन्त्यमा एकता बाहेकको अर्को विकल्प छैन।
जय पहिचान!
जय “किरात लिम्बुवान”/”लिम्बुवान किरात”


257 पटक हेरिएको 









