पथरी, (मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित मिलन चोक-सेवारो चोक जोडने गोही होली खोलामा मोटरेबल पुल निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। वर्षौंदेखि पुल अभावका कारण सास्ती खेप्दै आएका स्थानीयवासी पुल निर्माण सुरु भएपछि उत्साहित बनेका छन्।
गोही पुलको शिलान्यास २०८२ साल माघ १२ गते विशेष समारोहका बीच पूर्व सांसद तथा नेपाली कांग्रेसका युवा नेता डा. सुनील शर्माले गरेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य गीता तिम्सिना, प्रदेश सांसद तथा मन्त्री मानवबहादुर लिम्बू, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गोही होली खोलामा पुल नहुँदा वर्षायाममा स्थानीयवासीले आवतजावतमा ठूलो जोखिम बेहोर्नुपरेको थियो। स्वास्थ्य उपचार, शिक्षा, व्यापार–व्यवसाय तथा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आएको थियो। लामो समयदेखि स्थानीयले पुल निर्माणको माग गर्दै आएका थिए। निर्माण कार्य सुरु भएसँगै स्थानीयले आफ्नो वर्षौंदेखिको सपना साकार हुन लागेको भन्दै खुशी व्यक्त गरेका छन्।
३५ मिटर लामो प्रि–स्ट्रेस्ड कङ्क्रिट पुल निर्माणका लागि ७ करोड ८३ लाख ७५ हजार १ सय २६ रुपैयाँ ८९ पैसा लागत निर्धारण गरिएको छ। पथरी शनिश्चरे नगरपालिका–३ का वडाध्यक्ष विजय लिम्बूका अनुसार पुल निर्माण सम्पन्न भएपछि किराँती चोक, कीर्तिपुरलगायत आसपासका बासिन्दालाई वडा कार्यालय पुग्न सहज र छोटो (सर्टकट) बाटो उपलब्ध हुनेछ। उनका अनुसार निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न गरी आगामी माघ महिनामा पुल उद्घाटन गर्ने लक्ष्य राखेको छ।
पुल निर्माणको ठेक्का हिमतारा–PCS जे.भी., उर्लाबारी, मोरङले पाएको हो। निर्माण सम्झौता २०८२ साल साउन २० गते भएको थियो भने २०८४ साल साउन २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।


28 पटक हेरिएको 











