कमल(झापा)। कमल गाउँ पालिका वडा नम्बर ३, केर्खा बजार झापामा मुन्धुमी प्रतिक सिलाम्साक्मा स्तम्भ साउन २ गते राँके मेलाको सम्झना गर्दै स्थापना गरिएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको केर्खा बजारमा स्थापना गरिएको मुन्धुमी प्रतिक सिलाम्साक्मा स्तम्भको अनावरण विेशेष कार्यक्रमका साथ प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ्का संघीय सदस्य तथा कमल गाउँ पालिका कार्यकारी सदस्य चन्द्रकला आङ्देम्बे सुब्बाले अनावरण गरेका हुन् । स्थानीय पहिचानवादी तथा मुन्धुमी सांस्कृतिक अभियन्ता युवाहरुको विशेष पहलमा स्थानीय स्रोतसाधनबाट निर्माण गरी स्थापना गरिएको सिलाम्साक्मा स्तम्भले पहिचान र अस्तित्व संरक्षण, संबर्द्धनको इतिहसमा एक इटा थपिएको कुरा कार्यक्रमलाई नजिकबाट हेरिरहेका विश्वका सांस्कृतिप्रेमीहरुले प्रतिक्रिया दिएका छन् । परम्परादेखि नै साउने संक्रान्तिको अवसरमा साउन २ गते लाग्दै आएको राँके मेलाको स्मरण गर्दै स्थानीयबासीहरुले आयोजना गरेको स्तम्भ अनावरण कार्यक्रममा के लाःङ्, यालाःङ्को समेत आयोजना गरिएको थियो ।
झापा, मोरङ् र इलाम जिल्लाका विभिन्न भेगबाट आ–आफ्नोे भेषभूषामा सजिएर भेला भएका सांस्कृतिकप्रेमीहरुले यालाःङ् (धान नाच) प्रस्तुत गरेका थिए । स्थानीय कलाकर्मीहरुले के लाःङ्, माङ् लाःङ् प्रस्तुत गरेका थिए ।
याक्थुङ् लिम्बू जातिको मुन्धुम् अनुसारको मौलिक पहिचान बोकेको रक्षा कवजको प्रतिक सिलाम्साक्मा निर्माण समितिका अध्यक्ष गोपाल साम्रा लिम्बूको सभापतित्वमा सम्पन्न अनावरण कार्यक्रममा प्रमुख अतिथि चन्द्रकला आङ्देम्बे, विशेष अतिथि पहिचानवादी नेता ज्ञानु इम्बुङ्, विशेष अतिथि याक्थुङ् युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, किरात याक्थुङ् चुम्लुङ्का प्रदेश सदस्य कविन्द्र सेर्मा, कियाचु झापाका सल्लाहकार सूर्यप्रसाद योक्पाङ्देन, कियाचु झापा सदस्य मनप्रसाद थलङ्, स्थानीय कियाचु सल्लाहकार बलनाथ नाल्वो लगायतले शुभकामना मन्तव्य राख्दै सिलाम्साक्माको अर्थ प्रष्ट्याएका थिए । कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ् झापा जिल्ला अध्यक्ष सेसेहाङ् फियाक लिम्बू, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, कियाचु झापा सहसचिव शर्मिला आङ्देम्बे, प्रदेश न. १ पुन नामाङ्कन संयुक्त संघर्ष समिति अर्जुनधाराका संयोजक येहाङ् लाबुङ्, पालामी अभियन्ता टुपेन्द्र येकतेन, छत्रमाया लिङ्देन, किशोरमान पङ्याङ्गु, याक्थुङ् लेखक संघका केन्द्रीय कोषाध्यक्ष साङ्सेन पन्धाक, कियाचु कमलका अध्यक्ष दिवस लिम्बू, फिल्मी निर्देशक राज थापा लगायतको व्यापक उस्थिति रहेको थियो ।


121 पटक हेरिएको 












