पथरी । मोरङ्को पथरी शनिश्चरेमा तीन दिनसम्म जारी रहेको चासोक तङ्नाम कार्यक्रम सकिएको छ । कार्यक्रम मङ्गलबारदेखि बिहीबारसम्म भएको थियो ।
बिहिवार प्रदेश सभा सदस्य मान बहादुर लिम्बुको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुने बताइए पनि लिम्बु कार्यक्रममा आएनन् ।अन्ततः समापन कार्यक्रम पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तुम्बापो, ३ नम्बर वडाका अध्यक्ष बिजय लिम्बू, १० नम्बर वडाका अध्यक्ष जीवन खतिवडा, नेपाल आदिवासी जनजाति महासङ्घका नगर अध्यक्ष देबेन्द्र वनेमलगायतले शुभकामना मन्तव्य राखेका थिए । नाम्बिङ केलाङ सयङ, मिर्मिरे केलाङ सयङ, सिरिजङ्गा केलाङ सयङ, याक्थुङ केलाङ समूहलगायत समूहले च्याब्रुङ नाच र सङ्गिनी नाच प्रस्तुत गरिएको कार्यक्रममा विभिन्न प्रतियोगिता पनि भएको थियो ।
पक्लुङ लेप्मा(छेलो)तर्फ पहिलो भरेन्द्र सिरेङ लिम्बु र दोस्रो सन्तोष राई हुन सफल भए । त्यस्तै भेट्रानतर्फ पहिलो विष्णु मादेन र दोस्रो देउनाथ थक्लुङ भए । मैत्रीपूर्ण महिला फुटबलमा २-१ गोल अन्तरले सुम्निमा महिला भेट्रान विजेता भयो । लुङ्गी पहिरनमा सजिएको खेलमा पारुहाङ महिला भेट्रान उपविजेता हुन सफल भयो । पुरुषतर्फको फुटसलमा आयाेजक भेट्रानलाई पथरी भेट्रानले ४-५ गाेल अन्तरले पराजित गर्यो । लुङ्गी महिला खेलमा सुम्निमा महिला टिमले पारुहाङ टिमलाई २-१ ले पराजित गरेकाे छ। मचिन्द्र पारघरीले हाक्पारे र देश बहादुर मादेनले बिनायो मुर्चाङा वजाएर मनोरञ्जन प्रदान गरेको चासोकमा चर्चित गायिका बबिना किराँती, गायक दिपक लिम्बुलगायतले गीत गाए ।
कार्यक्रम चासोक तङ्नाम उधौली पूजा २०८२ आयोजक समितिले आयोजना गरेको हो । सिरिजङ्गा स्मृति धार्मिक बन समूह पथरी शनिश्चरे १० हुने कार्यक्रम वर्षेनी किरात याक्थुङ चुम्लुङ र धार्मिक बनले सङ्गोलमा गर्दै आएको छ ।


49 पटक हेरिएको 





