पथरी । मोरङ्को पथरी शनिश्चरे-३ स्थित येले मेलामा सम्पन्न येले साम्लो नाइसुम ५०८६ को आय–व्यय विवरण आइतबार सार्वजनिक गरिएको छ ।
मौलिक लिम्बू भाषा, संस्कृति तथा मुन्धुमी गायनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत माघ १३ गते येले साम्लो नाइसुम ५०८६ कार्यक्रमको आयोजना गरिएको थियो । आयोजक मुन्धुमी मा चुम्लुङका अनुसार कार्यक्रम सञ्चालनका लागि विभिन्न निकाय, व्यक्ति तथा समुदायबाट नगद तथा गैर–नगद सहयोग प्राप्त भएको थियो।
पथरी शनिश्चरे नगरपालिकाबाट १ लाख, सिक्किम, भारतबाट एकमुष्ट ४० हजार, कुमार सुब्बा (सिक्किम) बाट २५ हजार र स्थानीय सहयोग २५ हजार गरि जम्मा नगद १ लाख ९० हजार संकलन भएको आयोजक समितिले स्पष्ट पारेको छ। सौजन्य/गैर–नगद सहयोग पनि उपलब्ध भएको बिज्ञप्ति वताइएको छ । अमेरिका निवासी आयन राईबाट ३ वटा म्युजिक भिडियोका लागि भिडियो तथा फोटो सहयोग, मोरङ निवासी मबिन्द्र नाल्बोबाट ट्रफी सौजन्य, मोरङस्थित आइबिटी इँटा उद्योगबाट साउन्ड सिस्टम तथा स्टेज व्यवस्थापन सौजन्य, दिलमान बेघाबाट प्रतियोगीहरूका लागि खाना तथा बसोबास सहयोग भएको छ । पुरस्कार रकम १ लाख ४६ हजार २ सय ५०(भ्याट कट्टी पश्चात), प्रचार–प्रसार खर्च १० हजार, ब्यानर तथा प्रचार सामग्री ५ हजार, यातायात १० हजार गरि जम्मा व्यय १ लाख ७६ हजार २ सय ५० भएको छ । नाइसुमबाट प्राप्त १३ हजार ७ सय ५० आम्दानी आगामी दिनमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, मौलिक कला–संस्कृति संरक्षण तथा संस्थागत गतिविधिहरूमा प्रयोग गरिने मा चुम्लुङ्का अध्यक्ष किसान सि लिम्बुले बताए ।
नाइसुममा कस्ले विजेता बनेको थियो ?
मा मुन्धुमी चुम्लुङ साँस्कृतिक विभाग पथरी शनिश्चरेको आयोजनामा भएको येले साम्लो नाइसुम ५०८६ गायन प्रतियोगितामा पाँचथर मिक्लाजुङका मिलन लिम्बु उपाधि आफ्नो पोल्टामा पारेका छन् । प्रतियोगितामा दोस्रो स्थान दिलिप माखिम र तेस्रो स्थान लाओती याक्थुमाले प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट मुन्धुमी गायनको उपाधि रिता आङ्देम्बे घोषित भएकी छिन् । विजेता मिलन लिम्बुलाई नगद रु. १ लाख, दोस्रो हुने दिलिप माखिमलाई ५० हजार र तेस्रो हुने लाओती याक्थुमालाई २५ हजार नगद प्राप्त गरेका छन् । विजेताहरुले म्यूजिक भिडियो रेकर्डिङको अवसर प्राप्त गर्ने छ । उत्कृष्ट मुन्धुमी गायनतर्फ रिता आङ्देम्बेलाई १५ हजार नगद सहित ट्रफी प्रदान गरिएको छ ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तिल हाङ सुब्बाको हस्तबाहुलिबाट पुरस्कार प्रदान गरिएको थियो ।
सो कार्यक्रममा सिक्किमका ख्यातिप्राप्त साहित्यकार समाजसेबी सम्मानित व्यक्तित्व सुकवीर ताम्लिङ, बी.एल. साउदैने र लिला तुम्बापो निर्णायक कर्मिला आङ्देम्बे सन्चमान ताम्लिङ दिपराज नेयोङ्हाङलाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो । उनीहरूलाई वरिष्ठ कलाकार यासेली योङ्हाङको हस्तबाहुलीबाट अभिनन्दन गरिएको हो ।
नेपाल भारतका विभिन्न स्थानबाट २७ प्रतियोगी कलाकारबाट छनोट प्रक्रिया अन्तर्गत उत्कृष्ट ४ प्रतियोगी फाइनलमा सहभागी भएका थिए ।


8 पटक हेरिएको 






