पथरी । खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवर्द्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ ।
पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला साहित्य प्रवद्र्धन समितिको पछिल्लो बैठकले नगरमा सबैभन्दा बढी पुस्तक कृति प्रकाशित गर्ने १४ पुस्तकका लेखक तिम्सिनालाई नगद २५ हजार, मुहारचित्र, दोसल्ला र सम्मानपत्रसहितले २०८२ सालको नगर श्रष्टा सम्मान प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष धनराज राई अमीरले जनाए । लेखक तिम्सिनाको उच्च रक्तचापको समस्याका कारण ४५ वर्षको उमेरमा २०८२ फागनु १९ गते निधन भएको थियो ।
‘सृजना अनुष्ठान तथा श्रष्टा सम्मान कार्यक्रम’ अन्तर्गत जेठ १७ गते एक कार्यक्रमकाबीच नगर श्रष्टा सम्मानसहितको कार्यक्रम गरिने छ । जेठ ८ गतेबाट १० दिने नाट्य कार्यशाला सञ्चालन गरिने छ । त्यसबीचमा एकदिने सृजना विमर्श कार्यक्रम समेत सञ्चालन हुनेछ ।
नगरका प्रत्येक सामुदायिक विद्यालयका एक एक जना विद्यार्थीलाई सहभागि गराई १० दिने नाट्य कार्यशाला र नगरका प्रत्येक सामुदायिक विद्यालयका २,२ जना विद्यार्थी सहभागी गराई एक दिने सृजना विमर्श कार्यक्रम सञ्चालन गरिने निर्णय भएको छ । नाट्य कार्यशाला र सृजना विमर्श कार्यक्रम सम्पन्न गरेपछि कार्यशालाबाट उत्पादित नाटक तथा सृजना विमर्शबाट उत्प्रेरित सृजनाहरुका साथै अग्रज सर्जकहरुको प्रस्तुतिमा अन्तिम दिन सृजना अनुष्ठानसहित श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिने छ । संस्थाले २०७५ सालबाट वर्षेनी कला र साहित्य क्षेत्रका गतिविधि सञ्चालन गर्दै आएको छ ।


9 पटक हेरिएको 












