पथरी । मोरङको पथरी शनिश्चरे ९ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७ औँ स्थापना दिवस मनाएको छ । जिल्ला शाखा मोरङ्ले पत्रकार सम्मान र निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
शनिबार सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा ‘कृष्ण देवान स्मृति पुरस्कार’ उज्यालो प्रदेश डटकमका सम्पादक भक्त शेर लिम्बुलाई प्रदान गरियो । फोनिजका निवर्तमान प्रदेश इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष समेत रहेका लिम्बुलाई नगद ८ हजार रुपैयाँ, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सो अवसरमा कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउने शिवम मेडिकोका सञ्चालक देशबन्धु ढकाल र विराट रानी आँखा अस्पताललाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा फोनिज प्रदेश उपाध्यक्ष अर्जु,न राई नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल र सिंहबहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश खड्का लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पुरस्कारका संरक्षक प्रेम देवानले लिम्बुलाई पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले राज्यले गर्नुपर्ने स्वास्थ्यसम्बन्धी काम सञ्चारकर्मीहरूको संस्थाले गर्नु प्रशंसनीय भएको बताए । उनले पत्रकारिता सूचना प्रवाहमा मात्र सीमित नभई सामाजिक सेवाका क्षेत्रमा पनि सक्रिय हुनुपर्नेमा जोड दिए । गत वर्षदेखि सुरु गरिएको यो पुरस्कार पहिलोपटक फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्मेली राईलाई प्रदान गरिएको थियो ।
औपचारिक कार्यक्रमपछि भएको निःशुल्क आँखा जाँच शिविरमा २ सय ५० जना स्थानीयले सेवा लिएका छन् । परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ । मोतियाबिन्दु पहिचान भएका बिरामीहरूको विराटनगरस्थित विराट रानी आँखा अस्पतालमा थप उपचार गरिने बताइएको छ ।
शिविरमा बिरामीहरूलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग र शिवम मेडिकोको समन्वयमा शिविर सम्पन्न भएको हो ।
फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठले संस्थाको स्थापना दिवसलाई केवल उत्सवका रूपमा मात्र नमनाई सामाजिक सेवामार्फत समुदायको सेवामा समर्पित गरिएको बताए ।


21 पटक हेरिएको 












