कानेपोखरी गाउँपालिकाको बजेट कति?  

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले बजेटको स्रोत परिचालनबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । हिजो २१औँ गाउँसभाबाट पारित बजेटबारे सञ्चारकर्मीहरूलाई औपचारिक रूपमा जानकारी गराइएको हो । गाउँपालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले सबैभन्दा बढी रकम पूर्वाधार विकासतर्फ ५८ करोड ९४ लाख रुपियाँ विनियोजन गरिएको बताए। कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड २६ लाख, सामाजिक विकासतर्फ ५ करोड १० लाख, आर्थिक विकासतर्फ ३ करोड २० लाख ९० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ४० लाख रुपियाँ छुट्याइएको छ । विषयगत बजेटतर्फ शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै सबैभन्दा बढी २ करोड रुपियाँ विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले जानकारी दिए । कृषि र सिँचाइमा आधुनिकीकरणगाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा कुल १ करोड ९० लाख रुपियाँ खर्चने भएको छ । पशुपालन तथा कृषिका लागि १ करोड १० लाख रुपियाँ र सिँचाइ कार्यक्रमका लागि ८० लाख रुपियाँ खर्च गरिने बजेट वक्तव्यमा उल्लेख छ । राजस्व र आन्तरिक स्रोतको अवस्थाप्रस्तावित बजेटको खर्च बेहोर्नका लागि संघीय सरकारबाट ४७ करोड ८५ लाख ७० हजार रुपियाँ र कोशी प्रदेश सरकारबाट ४ करोड ४० लाख ३ हजार ७५५ रुपियाँ अनुदान प्राप्त हुने अनुमान छ । बाँकी २५ करोड ६५ लाख १६ हजार २४५ रुपियाँ आन्तरिक स्रोतबाट व्यहोरिनेछ । आन्तरिक स्रोतमध्ये २० करोड ६५ लाख १६ हजार २४५ रुपियाँ भने चालु आर्थिक वर्षको भुक्तानी दायित्व (दायित्व रकम) रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम गाउँपालिका अध्यक्ष राजमति इङ्नामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार