पथरी। तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप खेलमा थ्री स्टार क्लब ललितपुर पराजित भएको छ ।
सोमबार भएको खेलमा झापा–११ ले टाइब्रेकरमा थ्री स्टारलाई पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा झापा–११ ले ४–३ गोल अन्तरले थ्री स्टारलाई पराजित गरेको हो।
खेलको ३२औँ मिनेटमा झापाका प्रताप चाम्लिङ राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ५७औँ मिनेटमा थ्री स्टारका मिलन चाम्लिङ राईले गोल गर्दै खेल बराबरीमा ल्याए। ६३औँ मिनेटमा क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले अग्रता बनाएको थियो। उत्तरार्धमा ७६ औँ मिनेटमा झापाका रोमन भुजेलले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्याए। झापाका गोलकिपर योगेश धिमाल खेलको म्यान अफ दि म्याच घोषित भए।
अब सेमिफाइनल पुगेको झापा–११ ले असोज ११ गते बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ।


13 पटक हेरिएको 










