बोक्रेचोक(मोरङ)। मोरङको पथरी शनिश्चरे नगरपालिका–२, कालापानीमा प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
कालापानी युनाइटेड क्लबको आयोजनामा हुने गोल्डकप आगामी मंसिर १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भएको पत्रकार सम्मेलनमार्फत बताइएको हो । प्रतियोगितामा विभिन्न स्थानका ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । स्थानीय क्षेत्रमा खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
प्रतियोगिताको मुख्य प्रायोजक पथरी शनिश्चरे नगरपालिका वडा नं. २ को कार्यालय रहेको छ। प्रतियोगितामा अन्य विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ
प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुदको प्रवर्द्धन, आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ। प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खेलप्रेमी, स्थानीयवासी, संघसंस्था, बुद्धिजीवी, समाजसेवी तथा देश–विदेशमा रहेका सम्पूर्ण शुभेच्छुकहरूलाई सहयोग र सहभागिताका लागि कालापानी युनाइटेड क्लबले आग्रह गरेको छ । ´कालापानी युनाइटेडको आव्हान, खेलकुद विकास हाम्रो अभियान´भन्ने नाराको साथ कालापानी युनाइटेड क्लब २०८३ सालमा स्थापना भएको हो।


26 पटक हेरिएको 










