निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ । निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

आचारसंहिताले प्रधानमन्त्री र मन्त्रीहरूलाई चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । आचारसंहितामा कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई प्रचारप्रसारमा खटिन नपाउने उल्लेख छ ।

आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ । तर, निर्वाचनमा आफैँ उमेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउनेछैनन् ।

यसैगरी यसपटकको आचारसंहितामा आयोगले ‘मौन अवधि’ शब्द नै हटाएको छ । आचारंहितामा मौन अवधि उल्लेख नगरी निर्वाचन हुनु ४८ घण्टा अघिदेखि पालना गर्नुपर्ने विशेष आचारण भनेर राखिएको छ ।

यसअघिको निर्वाचनमा मौन अवधिभर पालना गर्नुपर्ने आचारण भन्ने उल्लेख थियो । मौन अवधिको समय आयोगले तोकेअनुसार हुने गरेको थियो । विशेषगरी निर्वाचनको ७२ घण्टाअघि मौन अवधि लागु हुने गरेको थियो ।

“यसपटक मौन अवधि भन्ने नै राखिएको छैन । मौन अवधि भन्ने नै कानुनुको कुनै दफा उपदफामा छैन,” आयोगका आयुक्त रामप्रसाद भण्डारीले भने, “यसअघि ७२ घण्टा अघि प्रचारमा रोक लगाइन्थ्यो । अहिले आयोगले निर्णय गरेको समय (४८ घण्टा) अघि देखिका लागि विशेष आरचण राखिएको छ ।” -बाह्रखरी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार