पथरी । प्रदेश नम्बर १ को बन वातावरण तथा भू-संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधन भएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३(१) को नेपाली काङ्ग्रेसतर्फको उम्मेदवार समेत रहेका थापाको निधन भएको हो ।
नोबेल अस्पताल बिराटनगरमा उपचार गराइरहेका थापा एक महिना अगाडिदेखि निमोनियाले ग्रसित थिए । नोबेल मेडिकल कलेजका डाइरेक्टर राजेश नेपालले दिएको जानकारी अनुसार उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको हो । उनको निधन भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचन स्थगित हुने भएको छ ।
असोज २३ गते उम्मेद्वारी दर्ताको क्रममा बिरामी रहेका थापा असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना भएका थिए । असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल लगिएको थियो । उक्त अस्पतालमा १७ दिन आइसियु र ५ दिन वार्डमा राखेर उपचार गरिएको थापाका सहयोगी ज्ञानु कट्वालले बताए । थापालाई क्याप्सिका निमोनिया भएको थियो । उनलाई दुई दिन अगाडि बेड रेस्टको लागि भन्दै नोबेल अस्पताल ल्याइएको थियो । पथरी शनिश्चरे मोरङका ५८ वर्षीय थापाको श्रीमती लक्ष्मी कार्की र छोरा सुलभ थापा छन् । २०५७ सालदेखि लगातार ८ वर्षसम्म गिरिजाप्रसाद कोइरालाको पर्सनल असिस्टेन भएर काम गरेका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा मोरङको सोही क्षेत्रबाट नेपाली काङ्ग्रेसबाट चुनाव लडेका उनी तत्कालिन एमाले नेता चण्डी राईसँग पराजित भएका थिए । ०७४ सालमा काँग्रेसबाट उनी प्रदेशसभामा समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य बनेका थिए । 


141 पटक हेरिएको 












