राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् ।
सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्यालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भने, ‘सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको
उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनि एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी छन् । सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताएकी हुन् । राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरूबीचको सहकार्यलाई विकास गर्दै जाने पनि बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार