चितवन । आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ चितवनको भरतपुरमा जारी छ । फागुन ७ र ८ दुई दिन सम्म हुने चुम्लुङमा विविध विषयमा छलफल हुदैछ । 
हिजो कार्यक्रम स्थलमा भेला भएर लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स्थलमै उद्घाटन गरिएको थियो ।चुम्लुङको शुभारम्भ गर्दै प्रदेश १ का पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले धर्म संस्कृतिको जगेर्ना गर्नु पहिलो कर्तव्य भएको बताए । उनले लिम्बू समुदायको भाषा, संस्कृति संरक्षणमा पहिला आफ्नै समुदाय एक भएर लाग्नुपर्ने बताए। उनले भने, “संघीय गणतान्त्रिक संविधानले मात्रै हाम्रो अधिकार संरक्षण गर्ने छ । सङ्घीयता, गणतन्त्र र संंविधान कार्यान्वयनमा सहयोग पुर्याउन सकेमा मात्रै लिम्बूहरुको माग सम्बोधन हुन्छ । ”
कार्यक्रममा चुम्लुङकी केन्द्रय सल्लाहाकार चन्द्रमाया लिम्बू, प्रदेश सभा सदस्य उत्तम जोशी, बिनु रायमाझी, ईश्वर सापकोटा, भरतपुर महानगरपालिका–१० का वडाध्यक्ष परमेश्वर खनाल, चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नरेन्द्र कन्दङ्वालगायतले बोलेका थिए ।उद्घाटन कार्यक्रम पश्चात बन्दसत्र भएको थियो । लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका प्रतिनिधि राष्ट्रिय चुम्लुङ मा सहभागिता रहेको जनाइएको छ । प्रदेश नं. १ को लिम्बुवान प्रदेश कार्य समिति र बागमती प्रदेशको नेवा-ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित् चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी २२८ जना कार्यक्रममा सहभागी भएको बताइएको छ । राष्ट्रिय चुम्लुङले सांगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसैगरी मुकुमलुङ संरक्षण, प्रदेश न १ लाई “लिम्बुवान, किरात नामाङ्करणू, लिम्बु र याक्थुङ भाषामा शिक्षक दरबन्दी र प्रदेश नं १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन, ऐतिहासिक स्थलहरुको संरक्षण, अमुर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलहरुको संरक्षण लगायतका एजेण्डाहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुनेछ ।


206 पटक हेरिएको 












