विराटनगर । गत असोज २८ गते पहिलोपटक मन्त्रिपरिषद बिस्तार गरेको कोशी प्रदेश सरकारले आज दुई जना नयाँ मन्त्री थप भएका छन् ।
नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती (सुशील) र नेकपा (एकीकृत समाजवादी)बाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् । नव नियुक्त मन्त्रीद्वयले आजै पद तथा शपथग्रहण गरेका छन् । उप्रेती पहिलोपटक मन्त्री बनेका हुन भने जबेगु यसअघि पनि उद्धब थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए । प्रदेश प्रमुख पर्शुराम खापुङलले शुक्रबार साँझ पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेको बताइएको छ। गत असोज २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भए । सो को भोलिपल्ट मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र काँग्रेसका शम्शेर राईलाई मन्त्री नियुक्त गरेका हुन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।


74 पटक हेरिएको 












