पथरी । कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सरकारले सामधान गर्नुपर्ने बताएका छन् ।
आज पथरी शनिश्चरे नगरपालिकाले आयोजना गरेको कोशी टप्पु जग्गा सट्टाभर्ना समस्या सम्वन्धमा छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा समस्या समाधानका बारेमा जनप्रतिनिधि तथा राजनैतिक दलका प्रतिनिधिहरुसँग अन्तरक्रिया भएको हो । कार्यक्रममा वडा नं. ९ का अध्यक्ष वीरबहादुर राई, नेपाली काग्रेसका कुलमणि गुरुङ , नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, नेकपा एकीकृत समाजवादीका देवेन्द्र वनेम, राप्रपाका हरेन्द्र खत्री, जसपा नेपालका फिपराज लिम्बु, संघीय लोकतान्त्रिक मञ्चका बल वहादुर फियाक लगायत ले आ–आफ्ना कुरा राखेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले समस्या समाधन गर्न जनप्रतिनिधिले मात्र सम्भव नहुने र यसको समाधानका लागि सबै लागिपर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, कोशी टप्पु जग्गा सट्टाभर्ना उच्चस्तरीय समितिका संयोजक मधु सुदन अधिकारी, सदस्य सचिव कृष्णप्रसाद सापकोटा, सदस्य लालबहादु सुस्लिङले समितिले गर्ने कार्यहरुका बारेमा प्रष्ट्याए ।
छलफलले नगरपालिका क्षेत्रमा रहेको कोशी टप्पु जग्गा सट्टा भर्ना समस्या सम्वन्धमा बसोबासी तथा जग्गा धनी दुवै पक्षको समुचित व्यवस्थापन एवं दीर्घकालीन समस्या समाधानका लागि आवश्यकता अनुसार समितिका पदाधिकारी तथा सम्वन्धित कार्यालयका कर्मचारीहरुलाई स्थलगत भ्रमण, जग्गाको रेखाङ्कन/ नापजाँच गर्न प्रतिनिधि, राजनैतिक दलका स्थानीय प्रतिनिधिहरुले आवश्यक सहयोग तथा समन्वय गर्ने निर्णय गरिएको छ ।


172 पटक हेरिएको 












