सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न चुम्लुङ आग्रह

पथरी । किरात याक्थुङ चुम्लुङको सातौं संघीय बैठक विभिन्न १७ वटा प्रस्ताव पारित गर्दै बुधबार सम्पन्न भएको छ । दुई दिने बैठक बुढानीलकण्ठको भंगालस्थित काठमाडौं चुम्लुङहिममा बसेको थियो । बैठकले याक्थुङ/लिम्बुको सांस्कृतिक स्थलहरूमा फलाम, रड, सिमेण्टको प्रयोग नगर्न आग्रह गरेको छ । बैठकले मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माण र किपट भूमिमाथि भइरहेको अतिक्रमणको विरोध गरेको छ । प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समितिले आगामी मंसिर २ गते विराटनगरमा जनप्रदर्शन गर्दै थाल्न लागेको दोस्रो चरणको आन्दोलन शसक्त बनाउन प्रतिवद्धता जाहेर गर्दै आम याक्थुङहरूलाई सहभागिताका लागि पनि बैठकले आव्हान गरेको छ । आदिवासीमैत्री ऐन निर्माण गर्न सरकारसँग माग गर्दै चुम्लुङले लिम्बु/याक्थुङ र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयनमा लैजान माग पनि गरेको छ । 

बैठकद्वारा पारित प्रस्तावमध्ये पहिलो बूँदामा मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने योजना बन्द गर्न माग गरिएको छ ।  किपट जमिन सम्बन्धित आदिवासी समुदायको संरक्षणमा रहने गरी कानुन परिमार्जन गर्न चुम्लुङको माग छ । बैठकद्वारा पारित प्रस्तावमा उल्लेख गरिएको छ, ‘किपटकालमा तत्कालीन व्यक्तिहरूले आफ्नो नाममा खोलेका विद्यालयहरू कालान्तरमा हिन्दु देवीहरू (जस्तै: भगवती, सिद्धकाली, सिंहदेवी आदि)को नाममा परिवर्तन गरिएकाले पुरानै नाममा पुन:स्थापित गर्न र देवीदेवताको नाममा राखिएका विद्यालयको नाम परिवर्तन गर्न/गराउन यो बैठक जोडदार माग गर्दछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार