
पथरी । हरियाली सामुदायिक वन लिमिटेड पथरी शनिश्चरे २ ले आर्थिक वर्ष २०८०/०८१ मा १३ लाख ३६ हजार ९ सय ८५ नोक्सान व्यहोरेको छ ।
आज सम्पन्न भएको वन लिमिटेडको तेस्रो साधारण सभामा सो रकम बरावरको नोक्सान भएको बताइएको हो। कुल ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी रहेको लिमिटेडको २२ लाख ४५ हजार ९ सय ७७ खर्च भएको प्रतिवेदन मा उल्लेख छ । लिमिटेडले आगामी आर्थिक वर्षमा भने ४० लाख ७५ हजार नाफा आर्जन गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । कम्पनीमा हाल ८ सय ९६ शेयर सदस्य रहेका छन् । लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङले खुल्ला सभामा प्रगति प्रतिवेदन पेश गरेका थिए । पौडी पोखरीबाट चार महिनामा मासिक सरदर १ लाख २५ हजारभन्दा बढीको दरले रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ । पौडी पोखरीबाट ५ लाख ६ हजार १५० रकम संकलन भएको छ । हलभाडा वापत बर्षमा ३ लाख १९ हजार, व्याज आम्दानी ५८ हजार ३४२ लगायत गरेर बर्षभरीमा ९ लाख ८ हजार ९९२ रुपैयाँ आम्दानी गरेको हो।
खर्चतर्फ कर्मचारी तलव २ लाख २७ हजार ८ सय , लिमिटेड अद्यावधिक खर्च २ लाख ९७ हजार ७ सय ६०, पोखरीमा केमिकल खरिदमा १ लाख १८ हजार १ सय ५५, विद्युत महसुल खर्च २ लाख ३३ हजार ९ सय ५०, प्राविधिक खर्च १ लाख ६९ हजार ३ सय२५ लगायत गरेर २२ लाख ४५ हजार ९ सय ७७ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । लिमिटेडका ८ सय ९६ जना शेयर सदस्यहरुबाट ४८ लाख ९९ हजार ७ सय रुपैयाँ संकलन भएको उल्लेख छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्ब खेलकुद तथा युवा मन्त्री डिगबहादुर लिम्बूले कम्पनीले आगामी दिनमा नाफा गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी बर्षदेखि घाटा देख्न नपाइयोस भनेर सञ्चालकहरुलाई सुझाव दिए । कार्यक्रममा उद्योगी भोलेश्वर दुलालले कुनै पनि योजना बनाउदा सय बर्षको अनुमानित तयारी गर्नुपर्ने बताए । निर्माणको चरणमा कम्पनीहरु धेरैबर्ष घाटा बेहोर्नुपर्ने दुलालको भनाइ थियो ।
शुभकामना दिने क्रममा हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले कम्पनीले आगामी वर्षदेखि नाफामा जाने बताए । लिमिटेडका पूर्व सञ्चालक गणेश बाछनाले कम्पनी सुरुमै नाफामा नजाने कम्पनी नाफामा जान पर्खनुपर्ने बताए । कार्यक्रम कम्पनीका प्रबन्धक रोहित बास्तोलाले सञ्चालन गरेका थिए ।
संकलित र अन्य रकमबाट निर्माण भएर पौडी पोखरी सञ्चालनमा आएको छ भने किचन, कार्यालय लगायत निर्माण भएको छ । गत जेठ २५ गते पौडी पोखरी उद्घाटन भएको थियो। हरियाली सामुदायिक वनले शेयर स्वरुप एसी जडित भवन(हल) कम्पनीले हिसाव राख्ने गरी सञ्चालन गर्न दिएको वा हस्तान्त्ररण गरेको छ ।