फेदाप( तेहथुम )। पोक्लाबाङ माङ्गेना यक मान्ने थरहरूको वंशावलीमा पुस्ता मिलानसम्बन्धि महत्वपूर्ण छलफल भएको छ । फेदाप गाउँपालिकाको सभाहलमा भएको छलफल कार्यक्रमले उक्त पुस्ता मिलान गरेको हो । एकै पुर्खाका सन्तान छुट्टिएर बेग्लाबेग्लै थरमा परिणत भएपनि माङ्गेना यकलाई ती थरहरूलाई जोड्ने गर्छ ।पोक्लाबाङ यकमा आङ्बुङ, कुरुम्बाङ, खापुङ, चेलिफुङ, तुम्बाहाम्फे, तेयुङ, निङ्लेकु÷खु, पंगेनहाङ, पंयाङ्गु, पंधाक, पाहिम, मुसाहाङ, लुङफुङ्वा, सम्बाहाम्फे, सिंगक, हुक्पा चोङबाङ, हुक्पा मादेम्बा, हाङश्रोङ थरहरू रहेका छन् भने यसै भेलामार्फत थाम्देन पनि पोक्लाबाङ यक मान्ने थरकै रूपमा पुष्टि भएको छ ।
पोक्लाबाङ माङ्गेना यक थाम्रुङ फेदापको उपसमिति वंशावली खोजअनुसन्धान समितिको आयोजनामा छलफल भएको हो । सबै थरका वंशावली, संकलक तथा सम्पादकहरूको उपस्थितिमा घनिभूत छलफल भई सबैको वंशावलीमा सेङसेङगुम फेदापहाङलाई मूल पूर्खाको रूपमा जोड्ने सहमति भएको छ ।सेङ्सेङगुम फेदापहाङको नाती नामहाङदिङका दुईछोराहरू सिदिइङ र साङलाइङ रहेकोमा सिदिइङका सन्तानका रूपमा मुसाहाङ, तुम्बाहाम्फे, खापुङ, पंगेनहाङ, हुक्पा चोङबाङ, हाङस्रोङ, पाहिम, हुक्पा मादेम्बा, लुङफुङ्वा, कुरुम्बाङ, सम्बाहाम्फे, थाम्देन, पयाङ्गु, सिंगक, निङ्लेकु÷खु, थर बनेका देखिन्छन् । त्यसैगरी साङ्लाइङबाट आङ्बुङ, पंधाक, तेयुङ र चेलिफुङ थरहरू बनेका छन् ।
उपसमितिका संयोजक हर्कजङ कुरुम्बाङ, सदस्यहरू प्रवेग हाङ्स्रोङ र डिल्लिस्वर मुसाहाङले तयार पारेको छलफलपत्रलाई आधार मानी पुस्ता मिलानको कार्य सम्पन्न भएको हो । यद्यपि यो खोजअनुन्धान उपसमितिको अन्तिम निष्कर्ष नरहेको र उचित इतिहास प्राप्त भए फेरवदल हुनसक्ने पनि जनाएको छ ।
यस छलफल कार्यक्रममा सेङ्सेङगुम फेदापहाङसम्मको पूर्खालाई जोड्ने काम भएको र त्यसभन्दा माथिको पूर्खाको इतिहासलाई कसरी जोड्ने भन्ने सम्बन्धमा अध्येयता डीबी आङ्बुङले मानव सभ्यताको शुरुवातदेखि फेदापसम्मको आगमनको इतिहासबारे प्रष्ट पारेका थिए ।
यसअघि धरान, धनकुटाको नुन्थला, काठमाडौंमा पनि वंश इतिहासबारे छलफल भएको थियो । भेलामा मुन्धुम तथा संस्कृति खोज उपसमितिका संयोजक राज्यप्रसाद लुङ्फङ्वा र प्रकाशन उपसमितिका संयोजक देवेन्द्र खापुङले पनि आफ्ना योजनाहरूबारे जानकारी गराएका थिए ।छलफल भेलामा सहभागीहरूले पूर्खाहरू झरेको थाम्रुङ (थामा–खस्नु, लुङ– ढुंगा), माङगेना लुङधुङ (छुट्टिएको चिनो ढुंगा) र संस्थाको निर्माणधिन भवनको अवलोकन गरेका थिए । निर्माणधिन भवन सहरी विकास मन्त्रालयबाट बजेट आई निर्माणकार्य भइरहेको माङगेना यकका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङले जानकारी गराएका छन् ।