पथरी। किरात सिरिजंगा युनिकोड किबोर्ड शुक्रबार साँझ भर्चुअल माध्यमबाट सार्वजनिक भएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि एवं याक्थुङ (लिम्बू)हरुको मुन्धुमका खोजकर्ता बैरागी काइँलाले सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरेका हुन् । युनिकोड सार्वजनिकिकरण गर्दै पूर्व कुलपति बैरागी काइँलाले याक्थुङ (लिम्बू) भाषाको विकास र विस्तारमा लाग्न सबैलाई आग्रह गरे । सिरिजंगा लिपीको युनिकोड निर्माणमा खटिएका पवन चित्रकारले यसको प्रयोगको विषय र प्राविधिक पक्षहरूबारे जानकारी गराए । अहिलेको विज्ञान र प्रविधिको युगमा याक्थुङ (लिम्बू) भाषा र सिरिजंगा लिपीको प्रयोगलाई व्यापक बनाउन युनिकोड निर्माण गरिएको किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दीर्ज काङ्भा लिम्बूले बताए। कार्यक्रममा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले लामो समयको मिहेनतपछि सिरिजंगा लिपीको युनिकोड निर्माण भई सार्वजनिक भएको बताउँदै यसलाई व्यवहारिक प्रयोगमा ल्याउन आह्वान गरे ।
किरात याक्थुङ चुम्लुङ र प्रवास कार्यसमिति दक्षिण कोरियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सिरिजंगा लिपीको युनिकोड सार्वजनिक गरिएको हो । चुम्लुङ दक्षिण कोरियाको आर्थिक सहायतामा सिरिजंगा लिपीको युनिकोड निर्माण गरिएको हो । युनिकोड निर्माणका लागि दक्षिण कोरियाले २७ लाख ६ हजार रुपैयाँ आर्थिक सङ्कलन गरेको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले बताइन् । भाषाको विकास सम्बन्धी काम गर्न भनेर २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको उनी बताउँछिन् । हालः यो लिपीको १६ वटा स्वर वर्ण र २४ वटा व्यञ्जन वर्ण प्रयोगमा छन् । २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा याक्थुङ (लिम्बू) भाषीको सङ्ख्या ३ लाख ५० हजार ४३६ रहेको छ ।