पथरी । नेपाल तामाङ लामा गेदुन पथरी शनिश्चरे १० को आयोजनामा मंसिर २ गतेदेखि मंंसिर ८ गतेसम्म एक हप्ते बौद्ध धर्म परम्पराअनुसार विभिन्न धार्मिक अनुष्ठान हुने भएको छ।
आइतबार ओम सितार जम्बुलिङ बज्र गुम्बा, व्यवस्थापन समिति शिविर डाँडामा पत्रकार सम्मेलनमार्फत सो अनुष्ठान बारे थाहा दिएको हो । ओम सितार जम्बुलिङ बज्र गुम्बाका सल्लाहकार चन्द्र कुमार घिसिङले अनुष्ठान भारतको सिक्किमबाट बौद्व धर्मका गुरू टुल्कु रिग्देन रिन्पोछेको विशेष आतिथ्यतामा हुने बताए । देव अवतरण दिवसको अवसरमा हुने अनुष्ठानमा महायान बौद्ध धर्म अन्तर्गत मंसिर-२ गते शिल (धर्मअनुसार नियमहरु), मंसिर ३ गते शिल (धर्मका नियमहरू लागु), मंसिर ४ गते ३ दिने कुम्पा (मौन ब्रत), मंसिर ५ गते ञ्युङने समापन (ब्रत सम्पन्न), मंसिर ६ गते ३६ प्रकारका लामा छाम नाच प्रस्तुत र मंसिर ७ गते छोर्तेन राप्ने (नव निर्मित माने/ छोर्तेन /प्राण प्रतिष्ठाको उद्घाटन) र मंसिर ०८ गते धर्म गुरू रिन्पोछेबाट धार्मिक प्रवचन हुनेछ।
नेपाल तामाङ लामा गेदुनका केन्द्रीय अध्यक्ष धर्मगुरु लामा पाल्दिन योन्जनको समेत उपस्थिति रहने धार्मिक अनुष्ठान प्रदेशस्तरीय रहने आयोजकले जनाएको छ । अनुष्ठानमा पथरी शनिश्चरे १ शिखर चोक घर भई हाल सिक्किममा बौद्ध धर्म-संस्कार अध्ययन गरिरहेका नवअवतारी लामा गुरु टुल्कु साङ्गे दोर्जे योञ्जनलाई अभिषेक गरिने बताइएको छ ।