दमक (झापा) । लुङा त्रैमासिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ प्रकाशित गर्दैछ ।
आज बसेको लुङा प्रकाशन परिवारको बैठकले मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्क २०८१ बिमोचन गर्ने निर्णय गरेको हो। पत्रिकाका प्रकाशक/सम्पादक सेसेमी से. नाल्बोद्वारा जारी विज्ञप्तिमा सोही समारोहमा दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने बताइएको छ। याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक/सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम)का प्रकाशक/सम्पादक लोकमान सुब्बा आङदेम्बे पुरस्कृत हुने छन् । पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ । यसअघि २०७४ देखि ०७८ सम्म सो पुरस्कार याक्थुङ साम्नी यम्बुगेनले पाँचथरको फिदिमबाट वितरण गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।
पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । लुङाको दमक १ सम्पर्क कार्यालय रहेको छ ।