
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ स्थित यलम्बर चोकमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम २०८१ धुमधामका साथ सम्पन्न गरिएको छ ।
आइतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा बडा दिन ख्रिष्टमस शुभकामना सम्मान तथा सांगीतिक कार्यक्रम भएको हो । प्रमुख अतिथि तुम्वापोले नगरवासी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्णमा क्रिसमसको शुभकामना व्यक्त गरे। पथरी शनिश्चरे नगर इसाई समाजले आयोजना गरेको कार्यक्रममा नगरका ३५ वटा चर्जहरुको संयुक्त उपस्थिति रहेको थियो । कार्यक्रममा कोशी प्रदेश इसाई समाज सल्लाहकार पाष्टर रेभ दानियल लिम्बुको प्रवचन प्रस्तुत गरेपछि स्थानीय कलाकारहरुको आकर्षक नृत्य र क्रिश्चियन म्यूजिक ब्याण्ड हेफ्जिबाहको सांगीतिक प्रस्तुति रहेको थियो । वडाध्यक्षहरु भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने (लोकनाथ), उद्धवराज बस्नेत, नविन कार्की र युवा व्यवसायी एवं सुनाखरी माविका विव्यस अध्यक्ष प्रदिपकुमार राई, विभिन्न चर्जका पास्टरहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।