
पथरी । पथरी शनिश्चरे नगरपालिकाले पालिकाको वडा नं. ७ लामाटोलीमा सार्वजानिक सुुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार गरिएको सार्वजानिक सुनुवाई कार्यक्रममा विशेषतः नगरको विकास निर्माण, स्वास्थ्य, शिक्षा र कृषिसँग सम्वन्धित सवालहरु उठेका थिए । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरवासीको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
तिम्मा साप्ताहिक पत्रिकाको सहकार्यमा भएको सो कार्यक्रममा उठेका सवालहरु जवाफ नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्बर वस्ती, शिक्षा शाखा प्रमुख नविन खुलालले दिए ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरपालिकामा विकास निर्माणका कार्यहरु द्रुत गतिमा सम्पन्न भइरहेका र हुन बाँकी विकास योजनाहरुलाई जतिसक्दो चाँडो सम्पन्न गर्न लागिरहेको बताए ।
सार्वजानिक सुनुवाई कार्यक्रम वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, वडा नं. १० का अध्यक्ष जीवन खतिवडा, स्वास्थ्य अधिकृत एकराज खत्री, नगरका शाखा प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षक बुद्धिजिवीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यस अघि नगरको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम इङ्घङ मिडिया प्रालिको सहजीकरणमा हसन्दहबजारमा सम्पन्न भएको थियो ।