
विजय धिमाल
मोरङ । नयाँ वर्षकाे सुरुवात संगै नेपालका आदिवासी धिमाल जातिको महान पर्व “जातिरि/सिरिजात” सुरु भएको छ ।
नयाँ बर्षको आगमनसंगै प्रत्येक वर्ष वैशाख २ गतेबाट सुरु हुने याे पर्व असार २ गते दुई महिनासम्म मनाइने गरिन्छ । यस पर्वको प्रारम्भ मोरङको लेटाङ–१ स्थित भोगटेनीको राजारानी महाराजस्थान पवित्र थलोबाट गरिन्छ, जुन धिमाल जातिको उद्गम स्थल मानिन्छ । यहाँ विशेष पूजाआजा गरेपछि जातिरि/सिरिजात पर्वको सुरुवात हुन्छ ।
धिमाल समुदाय प्रकृति पूजक हुन । अतिबृष्टी, अनाबृष्टी, रोगव्याधि नलागोस्, बाली राम्रो होस्, वर्षा समयमै होस् र जङ्गली जनावरको विघ्न नहोस् भन्ने कामनासाथ सामूहिक बलि, पूजा, र धार्मिक गतिविधिहरू आयोजना गरिन्छ । फलफुल लगायत हाँस, कुखुरा, सुँगुर आदिको बलि दिई सामूहिक पूजा गरिन्छ र वर्षभरि सुख–शान्ति रहोस् भन्ने विश्वास गरिन्छ ।
धिमाल समुदायका अनुसार जातिरि/सिरिजात पर्वले आपसी सम्बन्ध मजबुत बनाउने, सामाजिक एकता र बन्धुत्व बढाउने कार्य गर्छ । धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालका अनुसार असार संक्रान्तिसम्म मनाइने यो जात्री पर्व १०८ वटै टोलमा मनाउदै आएको बताउछन । आफूले भाकल गरेअनुसार वस्तु चढाउने गर्दछन्, दुःख– बिरामी नहोस्, सन्तान प्राप्ति होस भन्ने मनोकामना राख्ने र ती पूरा भएपछि यस पर्वका बेलामा देउतालाई भाकल अनुसारका वस्तु चढाउने गर्दछन् । यो बेलामा धिमालका घरमा पाहुना आउने र उनीहरुलाई मिठेमिठाे परिकार खुवाउने गरिन्छ ।
यस पर्वको समापन भने मोरङको उर्लाबारीस्थित मङ्गलबारेमा रहेकाे दश विग्हेमा असार २ गते भव्य कार्यक्रमकाे आयोजना गरि समापन हुदै आएको छ । पछिल्लो समय काठमाडौंलगायत विभिन्न शहरमा बसोबास गर्ने धिमाल समुदायले पनि जात्री पर्व मनाउने गरेका छन् । कुनै समय युवायुवती हेर्ने पर्व वा प्रेम प्रस्ताव राख्ने समय पनि भन्ने गरिन्थ्यो गर्न समयक्रममा यस चलनमा विकृति देखिएपछि समाजका अग्रजहरूले यसलाई हटाएका हुन् ।