दोस्रो सँगिनी महोत्सवमा तिम्सिना सम्मानित

पथरी । मोरङको पथरी शनिश्चरेमा भएको दोस्रो सँगिनी महोत्सव -२०८२ मा सञ्चारकर्मी तथा साहित्यकार भूपेन्द्रराज तिम्सिनालाई सम्मान पत्र सहित दोसल्ला उडाएर सम्मानित गरिएको छ।
पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा महिला जागरुक हरि किर्तन तथा सँगिनी समूहको आयोजनामा महोत्सव सम्पन्न भएको हो। सोही अवसरमा तिम्सिनालाई लामो समयदेखि संचार माध्यमहरूबाट संगिनी नृत्यबारे महत्त्वपूर्ण भूमिका र योगदान पुर्‍याएको भन्दै आयोजकले सम्मान गरेको हो । संस्थाकी संस्थापक अध्यक्ष रेणुका देवी काफ्लेलाई पनि सम्मानित गरिएको थियो ।
प्रमुख अतिथि समेत रहेका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त गौतमले महोत्सवको उद्घाटन गर्दै हाम्रो देश नेपाल सबै जातजाति, भाषा भाषी, संस्कार, संस्कृति, विविध पहिचान भएका नागरिकहरूको साझा मुलुक भएको बताए । सबै भाषा, साहित्य, कला ,संस्कृति, संस्कार आदि जोगाउनु स्थानीय, प्रदेश र संघीय तहका सरकारहरूको महत्वपूर्ण जिम्मेवारी सहित भूमिका रहने उल्लेख गरे ।
महोत्सवमा पथरी शनिश्चरे नगरभित्रका दीर्घायु, शान्ति, ज्ञानकुञ्ज, गणपति, देवी , महिला जागरण जागरुक हरि किर्तन लगायतका विभिन्न संगिनी समूहहरूले आफ्ना सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका छन् ।
महोत्सवमा आमन्त्रित अतिथि र पाहुनाहरूलाई भुटेको मकै, गुन्द्रुक, आलु, मोही लगायतका नेपाली मौलिक परिकारहरूले स्वागत सत्कार गरिएको थियो। शिक्षासेवी तथा समूहका सल्लाहकार युवराज बास्कोटाले कार्यपत्र प्रस्तुत गरिएको समारोहमा पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राई, वडा नम्बर ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार चेम्जोङ, खिलानाथ घिमिरेलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार