पथरी । पथरी शनिश्चरे नगरपालिकामा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण नियन्त्रणका लागि अनुगमन गरिएको छ ।
बिहिवार नगर क्षेत्रमा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने ल्याक्टोजन, हर्लिक्स, स्यारलेक्स, बोनभिटा लगायतका सामग्री खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुमति नलिई जथाभावी विक्री वितरण भइरहेको तथा विशेषगरी मेडिकलजन्य व्यवसायहरूमा सर्वसाधारणले देख्ने गरी राखी विज्ञापनसहित विक्री वितरण गरिएको पाइएकाले नियन्त्रणका लागि अनुगमन गरिएको हो । नगरपालिकाको वडा नं. ४, ६, ७ र ९ का मेडिकल हल, फार्मेसी तथा किराना पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनपछि मेडिकल हल, फार्मेसी तथा किराना पसलहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा दर्ता नगरी यस्ता सामग्री विक्री वितरण नगर्न अनुरोध गरिएको छ ।
अनुगमनमा अनुगमन समितिका संयोजक तथा नगर उप–प्रमुख देविमाया काफ्ले, समितिका सदस्यहरू विरबहादुर राई र अन्जना शिवा, नगरका निरीक्षण अधिकृत एकराज खत्री, औषधि व्यवस्था विभाग विराटनगरका रामकुमार मंग्राती, इलाका प्रहरी कार्यालयका प्रहरी तथा नगर प्रहरीहरूको सहभागिता रहेको थियो ।


2 पटक हेरिएको 












