सिंहदरबारबाट बाहिरिँदै गर्दा सञ्चारकर्मी साथीहरूले मलाई घेरेर गणेश नेपालीको घटनाबारे केही प्रश्न गर्नुभयो। तत्काल मनमा आएका केही कुरा राखेँ। तर त्यहाँबाट फर्किएपछि ती प्रश्नहरूले मलाई छाडेनन्।
धेरै बेरसम्म मनन गर्दा मनमा एउटै प्रश्न घुमिरह्यो हामी साँच्चै अघि बढ्यौँ, वा घटनाहरू मात्र फेरिए, हाम्रो यथार्थ उही ठाउँमा घुमिरह्यो?केही वर्षअघि घटेका यस्तै पीडादायी घटनाहरू सम्झेर आजको घटना हेर्दा लाग्छ समय बित्यो, सरकारहरू फेरिए, भाषणहरू फेरिए; तर नागरिकका पीडा र राज्यका कमजोरी आज पनि उस्तै सान्दर्भिक छन्।
गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको जीवनको अन्त्य मात्र होइन। यो हाम्रो प्रणाली, हाम्रो संवेदना र हाम्रो सामूहिक चेतनामाथि उठेको कठोर प्रश्न हो।
पहिलो प्रश्न हामी समाजका प्रत्येक नागरिकमाथि छ। जब एउटा मानिस आगोको लप्काबीच जीवनका लागि संघर्ष गरिरहेको हुन्छ र वरिपरिका केही हातहरू उद्धारका लागि अघि बढ्नुभन्दा पहिले मोबाइल निकाल्न हतारिन्छन्, तब प्रश्न सरकारमाथि मात्र उठ्दैन हामी सबैमाथि उठ्छ। हामी प्रविधिमा अगाडि बढ्दै गर्दा कतै हाम्रो मानवीय संवेदना पछाडि छुट्दै गएको त छैन?
सभ्य समाज त्यो होइन, जहाँ पीडाको धेरै भिडियो खिचिन्छ। सभ्य समाज त्यो हो, जहाँ संकटमा परेको मानिसलाई बचाउन धेरै हात एकैसाथ अघि बढ्छन्। सभ्यताको मापन भवनको उचाइ, सडकको लम्बाइ वा मोबाइलको क्षमताले मात्र हुँदैन; संकटको क्षणमा एउटा मानिसले अर्को मानिसलाई कति छिटो समाउँछ भन्ने कुराले पनि हुन्छ।
दोस्रो प्रश्न हाम्रो आपत्कालीन तयारीमाथि छ। घटनास्थलमा खटिएका सुरक्षाकर्मी तथा जिम्मेवार निकायलाई आगलागी, आत्मदाहको प्रयास, दुर्घटना र अन्य आकस्मिक परिस्थितिमा तत्काल उद्धार गर्न आवश्यक तालिम, उपकरण र स्पष्ट कार्यविधि उपलब्ध छन् कि छैनन्? विपत्तिको क्षणमा साहस अत्यन्त आवश्यक हुन्छ। तर साहस मात्र पर्याप्त हुँदैन सीप, साधन, समन्वय र पूर्वतयारी पनि उत्तिकै आवश्यक हुन्छ। राष्ट्रको वास्तविक परीक्षा विकासका भाषणमा मात्र हुँदैन। संकटको एउटा क्षणमा नागरिकको जीवन जोगाउन राज्य कति तयार छ भन्ने कुरामै राज्यको वास्तविक क्षमता देखिन्छ।
तेस्रो र सबैभन्दा ठूलो प्रश्न राज्यप्रति छ। हामी समृद्धिका सपना सुनाउँछौँ, विकासका योजना बनाउँछौँ र उज्यालो भविष्यका भाषण गर्छौँ। तर आज पनि आधारभूत शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा र सम्मानजनक जीवनका लागि संघर्ष गरिरहेका नागरिकका निम्ति ती सपनाहरू कहिलेकाहीँ धेरै टाढाका ताराजस्ता लाग्छन्।
भोकाएको मानिसलाई भविष्यमा बन्ने महलको चित्रले राहत दिँदैन। उसलाई आज एक गाँस खाना चाहिन्छ। संकटमा परेको नागरिकलाई आगामी वर्षको योजना होइन, आजै समाउने राज्यको हात चाहिन्छ। कुनै समय जिम्मेवार पदमा रहेका व्यक्तिले लेख्नुभएको थियो “गरिब भएर जन्मिनु तिम्रो गल्ती होइन, गरिब भएर मर्नु तिम्रो गल्ती हो।” त्यो वाक्य कुनै बेला मानिसलाई संघर्षका लागि उत्प्रेरित गर्ने अभिव्यक्ति हुन सक्थ्यो। तर यस्ता घटनापछि त्यही वाक्य पढ्दा प्रश्न उठ्छ—के गरिबी, बेरोजगारी, मानसिक दबाब र राज्यका कमजोर संरचनाबीच संघर्ष गरिरहेको मानिसको मृत्युको सम्पूर्ण दोष उसैलाई दिन मिल्छ? नागरिकको व्यक्तिगत जिम्मेवारी अवश्य हुन्छ। तर नागरिकलाई अवसर, सुरक्षा, सुनुवाइ र सम्मानजनक जीवनको आधार उपलब्ध गराउने जिम्मेवारी राज्यको पनि हुन्छ। एउटा नागरिक आफ्ना पीडाबीच यति एक्लो किन भयो? उसले सहयोग माग्ने ठाउँ भेट्यो कि भेटेन? उसका गुनासा सम्बन्धित निकायसम्म पुगे कि पुगेनन्? पुगेका थिए भने तीमाथि कस्तो सुनुवाइ भयो? कुनै निकाय वा जिम्मेवार व्यक्तिबाट लापरवाही भयो कि भएन?
यी प्रश्नको उत्तर अनुमान, राजनीतिक आरोप वा सामाजिक सञ्जालको हल्लाबाट होइन, स्वतन्त्र, निष्पक्ष र सत्यतथ्यमा आधारित छानबिनबाट आउनुपर्छ। म सरकारसँग यस घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थितिको सत्यतथ्य छानबिन गरी निष्कर्ष सार्वजनिक गर्न आग्रह गर्दछु। कुनै जिम्मेवार निकाय वा व्यक्तिको लापरवाही देखिए कानुनबमोजिम कारबाही गरिनुपर्छ। साथै, गणेश नेपालीका आश्रित परिवारलाई तत्काल राहत, आर्थिक सहयोग र दीर्घकालीन सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ। हामी स्वयं पनि कानुन र नीति निर्माण गर्ने ठाउँमा छौँ। “त्यसैले केवल सरकारतर्फ औँला देखाएर आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनौँ। राज्यका संयन्त्रले समयमै उहाँको पीडा सुन्न, बुझ्न र सहारा दिन नसकेकोमा उहाँको परिवारसँग क्षमायाचना गर्न चाहन्छु।”
आज गणेश नेपालीलाई श्रद्धाञ्जली अर्पण गर्नु मात्र पर्याप्त छैन।
यदि यो घटनाले हाम्रो चेतना, हाम्रो नीति, हाम्रो आपत्कालीन तयारी र हाम्रो व्यवहार परिवर्तन गरेन भने भोलि अर्को गणेश नेपालीका लागि फेरि यही दुःख, यही प्रश्न र यही श्रद्धाञ्जली लेख्नुपर्नेछ।
विकास भनेको केवल अग्ला संरचना निर्माण गर्नु होइन। विकास भनेको सबैभन्दा पछाडि परेको नागरिकले समेत आफू सुरक्षित, सम्मानित र राज्यको संरक्षणमा छु भन्ने अनुभूति गर्न सक्नु हो।
आज गणेश नेपाली मात्र गुमेनन्।
आज हामीले आफ्नै समाज, आफ्नै राज्य र आफ्नै संवेदनालाई ऐनामा हेर्ने अवसर पाएका छौँ। त्यो ऐनाबाट आँखा नफेरौँ।
गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना।


25 पटक हेरिएको 





