सिरिजङ्गा चोक(पथरी) । पाँचौँ सिरिजङगा वडाध्यक्ष खुला नकआउट फुटबल प्रतियोगितामा सुनौलो कल्याण स्पोर्टिङ क्लब पथरीलाई २–१ गोल अन्तरले पराजित गर्दै उर्लाबारीको गोर्खा युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार सिरिजङगा खेलमैदान(पथरी शनिश्चरे-३)मा भएको प्रतिस्पर्धात्मक खेलमा गोर्खा युनाइटेडका निशान राई र पुकार दनुवारले गोल गरे। निशानले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो हाफको तेस्रो मिनेटमा सुनौलो कल्याणका अरुण लिम्बूले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए तर दोस्रो हाफको अतिरिक्त समयमा पुकार दनुवारले निर्णायक गोल गरेपछि गोर्खा युनाइटेडले २–१ को जित निकाल्यो।
दोश्रो हाफको १२ औं मिनेटमा रातो कार्ड पाउदै सुनौलो कल्याणका युवन कार्की मैदान बाहिरिए पछि टोली दबाबमा पर्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोर्खा युनाइटेडका राजु मगर म्यान अफ द म्याच घोषित भए।
अब गोर्खा युनाइटेड, लेटाङको सुकेचौरी एफसी, आयोजक सिरिजङ्घा स्पोर्टिङ क्लब र टाडी स्पोर्टिङ क्लब मिक्लाजुङले सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताअन्तर्गत मंगलबार आयोजक सिरिजङ्घा स्पोर्टिङ क्लब र टाडी स्पोर्टिङ क्लब मिक्लाजुङबीच पहिलो सेमिफाइनल खेल हुनेछ। सिरिजङगा स्पोर्टिङ क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बर्षाले प्रभाबित भए पछि प्रतियोगिताका खेलहरु ३ दिन अबरुद्ध गरिएको थियो ।


15 पटक हेरिएको 












