पाँचौँ सिरिजङ्गा वडा अध्यक्ष फुटबल प्रतियोगिता: आयोजक विजयी

सिरिजङगा(पथरी)। पाँचौँ सिरिजङ्गा वडा अध्यक्ष फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।

उद्घाटन खेलमा आयोजक सिरिजङगा स्पोर्टिङ क्लब विजयी भएको छ। आयोजकले कानेपोखरीको हिमाल युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। हिमाल युनाइटेडले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। खेलको सातौँ मिनेटमा हिमाल युनाइटेडका निसकुमार श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, त्यसको दुई मिनेटपछि नै सिरिजङ्गाका संयोग थापाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए। त्यसपछि आयोजकका क्रिसल थापाले खेलको १५औँ र १७औँ मिनेटमा लगातार दुई गोल गर्दै सिरिजंघालाई ३–१ को अग्रता दिलाए। पहिलो हाफमा दुई गोलले पछि परेको हिमाल युनाइटेडका निसकुमार श्रेष्ठले खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर ३–२ मा झारे। तर, त्यसपछि थप गोल हुन नसकेपछि आयोजक सिरिजङ्गा स्पोर्टिङ क्लबले उद्घाटन खेलमा जित निकालेको हो । खेलमा दुई गोल गरेका आयोजकका क्रिसल थापा म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत बुधबार लेटाङ एफसी र उर्लाबारीको मंगलबारे एफसीबीच प्रतिस्पर्धा हुनेछ। सिरिजङ्गा स्पोर्टिङ क्लबको आयोजनामा पथरीशनिश्चरे नगरपालिका–३, सिरिजङ्गा चोकस्थित सिरिजङ्गा खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार