किराँती चोक(पथरी) । जन्मदिन कसरी मनाइन्छ होला ? केक काटेर, भोजभतेर गरेर वा साथीभाइसँग रमाइलो गरेर? पथरी शनिश्चरेका नवल खनालले भने आफ्नो जन्मदिनलाई फरक र उदाहरणीय बनाउँदै विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेर मनाएका छन् । जन्मदिनलाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्दै वाल्मीकि मेमोरियल बोर्डिङ सेकेन्डरी स्कुलका सञ्चालक/ निर्देशक नवल किशोर खनालले शुक्रबार चन्द्र किरातेश्वर माध्यमिक विद्यालय(पथरी शनिश्चरे-७) लाई प्रोजेक्टर सहयोग गरेका छन् ।सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष तथा बिद्यालय व्यस्थापन समितिका अध्यक्ष उद्वबराज बस्नेत, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशीहाङ राई, शिक्षक अभिभावक संघका अध्यक्ष देबिप्रसाद भेट्वाल, प्रधानाध्यापक हर्कराज जिमी, सहायक प्रधानाध्यापक महेन्द्र ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त सहयोगले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई थप प्रभावकारी र सहज बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
जन्मदिनमा व्यक्तिगत उत्सवमा मात्रै सीमित नभई शैक्षिक संस्थालाई सहयोग गर्ने खनालको पहलले सामाजिक उत्तरदायित्व र शिक्षाप्रतिको सकारात्मक सोचलाई समेत उजागर गरेको छ।
बिद्यालयका प्रधानाध्यापक जिमीले सहयोगप्रति आभार व्यक्त गर्दै प्रोजेक्टर शिक्षण सिकाइमा सहयोग पुग्ने बताएका छन् । खनाल नगर शिक्षा समिति सदस्य तथा अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलका संचालक समेत हुन् ।


18 पटक हेरिएको 












