विजयपुर । जनता समाजवादी पार्टी नेपाललाई वैकल्पिक शक्ति बनाउन संरचनागत बहस पार्टीमा सुरु भएको छ । पछिल्लो निर्वाचनमा बेहोरेको अनपेक्षित परिणामपछि पार्टीको पछिल्लो पङ्क्तिका नेताकार्यकर्ताहरूले संरचनामा सुधार गरेर अघि बढ्नुपर्नेमा सुझावदिएका छन् ।
पार्टीको ११ राष्ट्रिय समितिले गता माघ २९ माललितपुरको बालकुमारीमा रहेको प्रवास विशेष प्रदेश समितिको कार्यालयमा बैठक बसी आन्तरिक सांगठनिक संरचनालाई कार्यकारी बनाउनुपर्ने निष्कर्षमा पुगेका थिए । समितिका नेताहरूले पहिचान पक्षधर शक्तिहरूलाई एकीकृत गर्न र जनतामा विश्वासको वातावरण निर्माण गर्न पनि ११ प्रादेशिक संरचनामा पार्टीलाई लैजानुपर्ने आवश्यकता महसुस भएको बताए ।
‘पहिचानवादी शक्तिलाई नेतृत्व गर्न, कार्यकर्ता एवम् मतदाताहरूको विश्वास पुनःआर्जन गर्न पनि अब पार्टी संरचनामा हेरफेर हुनुपर्छ । नेतृत्वले संगठनको लाइन स्पष्ट नपारे हामीझन् अप्ठ्यारोमा पर्न सक्छौँ,’ केन्द्रीय नेताएवम् प्रवास इञ्चार्ज आङकाजी शेर्पाले भने, ‘हाम्रो बटमलाइन संविधान संशोधनहो । नीतिगत रूपमा ११ प्रदेशको पक्षमाहौँ । यसकारण कार्यकारी संरचनाबनाएर अघि बढ्नुपर्छ ।’
जसपाले गएको निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षमा सात र समानुपातिकमा पाँच गरेर १२ सिट जितेको छ । प्रदेश सभातर्फ प्रत्यक्षमा ११ र समानुपातिकमा ९ गरी जम्मा २० सिट हात पारेको छ । पाँचवर्ष अघि भएको २०७४ को निर्वाचनमा पार्टीको कुल ३४ सिट थियो । त्यस्तै, प्रदेश सभामा मधेश प्रदेशमा मात्रै ५४ सिट थियो भने प्रदेश एकमा तीन, बागमतीमा एक, गण्डकीमा र सुदूरपश्चिममा दुई दुई र लुम्बिनीमा ६ सिट गरेर ६८ सिट हासिल गरेको थियो ।
त्यस्तै, अर्का नेता पार्टीका राजनीतिक समिति सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले पार्टी आफ्नो साख जोगाउने अवस्थामा पुगेको बताए । उनले १० जोड एक समितिलाई कार्यकारी नबनाए जनमतअझै घट्न सक्ने चेतावनी दिए । ‘अहिलेको निर्वाचनको समीक्षा गरिनुपर्छ । पार्टीको मुद्दा पहिचान हो । राजनीतिक विचार धारा र दर्शन संघीय समाजवाद हो । यसलाई अवमूल्य गरिनु हुन्न । हामीले जसरी पनि १० जोड एक राष्ट्रिय समितिहरूलाई कार्यकारी र अधिकार सम्पन्न समिति बनाउनै पर्छ,’ नेता माखिमले भने, ‘यसो गर्न सके मात्रै संगठनको धमिलिएको छविमा सुधार आउनेछ । हामीले आउने निर्वाचनमा राम्रो परिणाम दिन सक्नेछौँ ।’
१० जोड एक राष्ट्रिय समितिले बिहीबार राखेको अन्तरक्रियामा समेत देश विदेशकाअधिकांश नेताकार्यकर्ताहरूले संरचनाबारे बोलेको किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईले जनाए । भर्चुअल अन्तरक्रियमा दर्जन बढी मुलुकहरूबाट सय बढीको उपस्थिति रहेको थियो । ‘पार्टीका कार्यकर्ताहरूको मागपनि संगठन सच्चिनुपर्छ भन्ने छ । सम्भवतः नेतृत्वले संरचनाबारे पुनर्विचार गर्लान्,’ उनले भने । पार्टी अहिले सात प्रदेश समिति संरचनामा छ ।
त्यसैगरी, बुद्धिजीवि एवम् पार्टी सल्लाहकार महेन्द्र लाओतीले समेत जनमत घट्नुमा मुख्य कारणमध्ये एक पार्टी संरचना पनि भएको बताउँदै आफ्नो सिद्धान्त अनुकूलको संरचना बनाए पुनः मत प्रतिशत बढ्ने बताए । ‘हामी तत्कालीन नेकपा माओवादीले २०५८ मा सैन्य आक्रमणमा बेहोरेको क्षतिपछि अपनाएको रणनीति हेर्न सक्छौँ । पहिचानमा आधारित जनसरकार घोषणा गरेपछि जनसमर्थनमा उभार आएको थियो । त्यस्तै, तत्कालीन मधेशी जनाधिकार फोरमले पनि मधेशभित्रका अन्य पहिचानहरूलाई समेटेर लगेपछि आन्दोलन सफल भएको थियो,’ उनले भने, ‘पुनरुत्थानवादी र दक्षिणपन्थी शक्तिसँगै चरम निराशाबाट जन्मिएका नयाँ शक्तिहरूलाई हेर्यौँ भने राजनीतिक दर्शन र सिद्धान्तको अभाव छ । जसपाले असन्तुष्टिको नेतृत्व गर्न सके मात्रै पनि शक्ति र प्रभाव बढाउन सक्छ । पार्टीले आफू स्थापना हुनुपछाडिको कारण बिर्सनुभएन ।’ पार्टी अहिले आफ्नो विधान सभा आयोजना गर्ने तयारीमा छ ।


129 पटक हेरिएको 












