पथरी । १ नम्बर प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । नामाकरणको बारेमा प्रदेश सभामा छलफल हुदै गर्दा नै प्रदेश सभा भवन विराटनगर बहिर प्रदेश १ को नाम पहिचानविपरीत भएको भन्दै सडक आन्दोलन सुरु गरेका थिए ।
लिम्बुवान-किरात संघर्ष समितिले देवकोटा चोक छेउमा प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् । पहिचानवादी एक हौँ, मुख्य मन्त्री हिक्मत कार्की मुर्दाबाद, कोशी प्रदेश मान्दैनौँ लगायतका नारा लगाएर उनीहरूले विरोध गरेका हुन् ।
‘कोशी प्रदेश’ नामकरण विरोधमा खोटाङमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्री हिकमत कार्की लगायतको पुतला जलाएका छन् । बुधबार साँझ जिल्ला प्रशासन अगाडि मुख्यमन्त्री कार्की, कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोको पुतला जलाइएको हो । नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा खोटाङको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
छापामार शैलीमा प्रदेशको नाम कोशी प्रदेशको नामकरण गरिएको भन्दै पहिचानवादी संस्थाले संयुक्तरुपमा विरोध जनाएका छन्। बिहीबार धनकुटाको चारवटा संस्था किराँत राई यायोक्ख, किराँत याक्थुङ चुम्लङ, किराँत याक्खा छुम्मा जिल्ला कार्यसमिति र नेपाल आदिवासी जनजाति महासंघले विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। पञ्चायतीशैलीमा जबरजस्ती ढंगले ६ वटा प्रदेशमा शासक जातीय पहिचनामा आधारित कोशी नदीबाट कोशी प्रदेश घोषणा गर्नु नेपाली जनताको साझा नामको हवला दिएर शासक जातीय साम्प्रादायिक नाम राख्ने षडयन्त्र भएको प्रति असहमति रहेको विज्ञप्तिमा जनाइएको छ। प्रदेश १ को नामकरण किराँत, लिम्बूवान माग गर्दै आएको आफूहरुको मागलाई नजरअन्दाज गरिएको र पहिचानविरोधी कोशी छलफल नै नगराई हतास र निरंकुश ढंगले नामकरण गराइएकोमा प्रतिकार गर्दै आन्दोलनमा होमिन बाध्य बनेको समेत विज्ञप्तिमा उल्लेख छ। पहिचानबिना नै प्रदेश १ को नाम कोशी राखिएको विरोधमा धनकुटामा प्रदर्शन गरिएको छ ।

त्यस्तै कोशी प्रदेश नाम घोषणाको झापाका मुख्य शहरहरूमा बिरोध प्रदर्शन गरिएको छ । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा फागुन १८ गते झापाका मुख्य शहरहरूमा बिरोध प्रदर्शन गरिएका छन् । विर्तामोड, दमक र झापा जिल्लाको सदरमुकाम चन्द्रगढीमा बिरोद प्रदर्शन सहित कोणसभा गरिएको खबर प्राप्त भएको छ । 
किरात याक्थुङ चुम्लुङ ईलाम, किरात राई यायोख्खा ईलामलगायत पहिचानवादी संघसंस्थाले इलाम चोक बजारमा कोशी प्रदेश खारेज गराउन विरोध प्रदर्शन गरिएको छ । 
यसैगरी लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा धरानको सुनसरीमा कोशी प्रदेश जलाइएको छ । कौषिक ब्राह्मणको नामबाट बनेको कोसी प्रदेशको विरुदमा दलका घटक संगठनहरुको प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । नाराबाजी पछि परिणत भएको कोणसभामा संयुक्त सङ्घर्ष समितिका अगुवा किरात याक्थुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेलाले पहिचान विरोधी तथाकथित ठुला पार्टीहरूले कायरतापूर्वक प्रदेश सभालाई बन्दी बनाएर कोशी प्रदेश नामकरण गरेकोमा भर्त्सना गर्दै कोशी नाम कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । प्रदेशको नाम लिम्बुवान, किरात घोषित गर्न सडक आन्दोलनबाट बाध्य बनाउने उद्घोष गर्दै कोशी नाम समग्र प्रदेशवासीको अपनत्व नगर्ने भएकोले प्रदेशवासीमा विभाजन, द्वन्द्व बढाउन षडयन्त्रपूर्वक नामकरण गरिएको बताए । कोशी नामले भारतीयपन झल्काउने उल्लेख गर्दै उनले भने ‘भारतीय कोसी नदीमा तपस्या गरेका भारतीय कौशिकी ऋषिको नामबाट कोशी बनेकाले उनैको भक्तिभावका लागि प्रदेशको नाम राखिएको हो ।’ विरोध प्रदर्शन र कोण सभा सञ्चालन लिम्बु विद्यार्थी मञ्चका केन्द्रीय उपमहासचिब प्रदीप लिम्बुले सञ्चालन गरेका थिए । सभामा जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु, केन्द्रीय सदस्य जेन्टल लावती, महिला नेतृ दुर्गामाया लिम्बु, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जिल्ला अध्यक्ष अमर इजम, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, खम्बुवान मुक्ति मोर्चाका भूपी कोयु राई लगायत सहिभागी थिए ।
यसैबीच कोशी प्रदेश नामाकरणको विरुद्धमा विरोध स्वरुप जनता समाजावदी पार्टी निकट समाजवादी युवा संघ, प्रदेश न १ समितिले राके जुलुस प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले भानुभक्तको शालिक वरिपरि उभिएर करिब आधा घण्टा नाराबाजी गरेका थिए । उनीहरूले कोशी प्रदेश, खारेज गर, कोशी प्रदेश मुर्दावाद, कोशी प्रदेश मान्दैनौँ, लिम्बुवान, किरात नामकरण गर लगायतका नाराबाजी गरेका हुन ।

कोशी प्रदेशको अस्वीकार गर्दै लिम्बुवान किरात प्रदेशलगायत पहिचानसहितको १०+१ प्राप्तिका लागि माइतघीघर मण्डलामा पनि प्रदर्शन गरिएको छ । ‘लिम्बुवान-किरात संयुक्त संघर्ष समिति’ले काठमाडौंमा प्रदर्शन गरेको छ । उनीहरुले पहिचान विरुद्ध निरन्तर प्रतिरोध गरिररहने प्रण गर्दै किरात, लिम्बुवानमा जारी आन्दोलनप्रति एक्यबद्धता जनाएका छन् । लिम्बुवान-किरात पक्षधरले पहिचानवादी आन्दोलनको अपमान भएको बताएका छन् । उनीहरुले, प्रदेशको नाम नसच्याए निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 
त्यस्तै मोरङको पथरीशनिश्चरे १ स्थित मुख्य सडकमा १ घण्टा अवरोध गरेका छन् । कोशी प्रदेश नाम खारेजीको माग गर्दै किरात राई यायोक्खा मोरङको आयोजनामा सडक जामसहित विरोध प्रदर्शन गरेका हुन् ।
यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, उपमहासचिव अर्जुन जम्नेली राई, सदस्य नरहाङ राई, सामाजिक राजनीतिज्ञ युवा लोकसागर साम्बा, बिकार चाम्लिङ, जोन सुब्बा, आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देबेन्द्र वनेम, यायोक्खा जिल्ला अध्यक्ष केदार राई, सचिव काशीहाङ राई लगायत बिभिन्न संगठनका नेता कार्यकर्ताहरुको सहभागितामा विरोध प्रर्दशन भएको हो ।
कोशी प्रदेश खारेज गर, किरात लिम्बुवान घोषणा गर, किरात प्रदेश घोषणा गर लगायतको प्लेकार्ड र यायोक्खा झण्डा प्रदर्शन गर्दै नारा जुलुससहित पूर्ब पश्चिम मुख्य सडक जाम गरेका थिए । हिजो मुख्य सडकमै प्रदर्शन हुँदा विहान १० देखि ११ बजेसम्म सडक जाम भएको थियो
बेलबारी, उर्लाबारीलगायत क्षेत्रमा पनि प्रदर्शन गरिएको छ । संघर्ष समितिले नामाकरणको विरोधमा कालो झन्डा गाड्नेलगायत प्रदर्शन गरिरहेको छ । 
आज लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगर देवकोटा चोकमाा दिनको २ः०० विरोध प्रदर्शन गर्ने किरात याक्थुङ चुम्लुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जनाइन् ।


171 पटक हेरिएको 












