मोरङ । प्रदेश नम्बर पुनः नामांकन संयुक्त संघर्ष समितिले आज (शनिबार) चक्का जाम गर्दैछ । दिउँसो १ वजेदेखि २ वजेसम्म १४ वटै जिल्लाहरुमा जाम गर्ने संघर्ष समितिले जनाएको छ । हिजो साझ कोशी प्रदेश नाम विरुद्धको प्रदर्शनमा पदमबहादुर लिम्बू (लाजेहाङ)को हत्याको विरुद्धमा मोरङको पथरीशनिश्चरे र बेलबारीमा टायर बालेर विरोध प्रदर्शन तथा सभा भएको छ । 
पथरीको जाँते मोडमा भएको विरोध सभामा आन्दोलनकारीहरुले ‘हत्यारा मुख्यमन्त्री हिक्मत कार्की—राजिनामा दे’, कोशी प्रदेश नाम—मान्दैनौ लगायतको नारा जुलुस लगाएका छन् । प्रदर्शनकारीहरुले सभामा कोशी नाम लेखिएको पेपर जलाएका थिए । किरात राई यायोक्खा केन्द्रीय सदस्य नरहाङ राई, मोरङ जिल्ला अध्यक्ष केदार राई, लिम्बु विद्यार्थी मञ्चका निवर्तमान अध्यक्ष फिपराज बेघा, किरात धर्म तथा साहित्य उत्थान संघका दुर्गा लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पूर्ब जिल्ला अध्यक्ष दिलु लावती, किरात याक्थुङ चुम्लुङका पथरीशनिश्चरे नगर अध्यक्ष बिक्रम लिम्बू लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।
विरोध सभामा किरात मोर्चाको केन्द्रीय महासचिव तेन्धोङहाङ किरातीले सम्बोधन गरे । किरातीले तुरुन्त कोशी नाम खारेजी नभए सांस्कृतिक विद्रोह हुने चेतावनी दिएका थिए । 
त्यसैगरी बेलबारीमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् ॥ कार्यक्रममा जनता समाजवादी पार्टीलिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव केदार धिमाल, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्ब जिल्ला अध्यक्ष दिलु लावती, नेपाल आदिबासी जनजाति अभियान्ता मनकुमार गुरुङ, स्वतन्त्र नागरिकको तर्फबाट शेरु साम्बाले सम्बोधन गरेका थिए । बक्ताहरुले कोशी प्रदेश नाम तुरुन्त खारेजी नभए बिद्रोह मार्फट छुट्टै देशको अभ्यासको स्थिति आउनसक्ने चेतावनी दिए । झडपमा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गर्नुपर्ने र पुनः नामाकरण गरी पहिचानको आधारमा नामाकरण गर्नुपर्नेमा जोड दिएका थिए । मुख्यमन्त्री हिक्मत कार्कीको मुख्य योजनामा छापामार शैलीमा कोशी नाम राखिएपछि नेपाल आदिबासी जनजाति महासंघ, किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात धर्म तथा साहित्य उत्थान संघ, नेपाल शेर्पा संघ, संलोराम, जसपा, नेकपा (एस)को साथै एमाले, कांग्रेस, माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पनि आन्दोलनलाई समर्थन गर्दै आएका छन् ।


111 पटक हेरिएको 












