मानव कंकाल फेला, दुई पक्राउ

काकडभिट्टा (झापा) । जिल्लाको मेचीनगर नगरपालिका–७ भान्सा खोला (चेरीगाउँ) क्षेत्रमा प्रहरीले मानव कंकाल फेला पारेको छ। अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उत्खनन गर्दा मानव आकृति देखिने कंकाल फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार ललितपुरको साविक महाङकाल गाउँपालिका–१ स्थायी घर भएका दिलनाथ बजगाई २०८१ सालदेखि झापाको मेचीनगर–५ काँकडभिट्टाबाट हराई बेपत्ता भएको सम्बन्धमा उनकी श्रीमती तुलसा बुढा बजगाईले दिएको निवेदनका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा दिलनाथ बजगाईसँगै हिँड्ने शक्ति राम भनिने गुपबहादुर सिंहले खुलाएको स्थानका आधारमा मेचीनगर–७ भान्सा खोला क्षेत्रमा रहेको जयप्रसाद तिवारीको जग्गामा गुप्तबहादुर सिंहले सञ्चालन गरेको बंगुर फार्म परिसरमा प्रहरीले उत्खनन गरेको थियो।
प्रहरीले स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको रोहबरमा जेसीबी प्रयोग गरी उत्खनन गर्दा मानव कंकाल फेला पारेको जनाएको छ। कंकाललाई परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।
प्रहरीका अनुसार उक्त कंकाल बेपत्ता दिलनाथ बजगाईकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षणपछि नमुना केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाउने प्रक्रिया अघि बढाइएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा म्याग्दी घर भई हाल मेचीनगर नगरपालिका–१० बस्ने ४५ वर्षीय राम भनिने गुप्तबहादुर सिंह र भारतको आलेपुर, बिरपारा घर भई हाल मेचीनगर–८ बस्ने ४९ वर्षीय संजय लामा रहेका छन्।
प्रहरीले उनीहरूमाथि अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार