कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा उपलब्धि सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले उपलब्धिको सार्वजनिक गरे ।
कार्कीले सार्वजनिक गरेको शासकीय सुधारमा प्रदेशका मन्त्रालयहरूको संख्या १३ बाट ९ मा घटाइएको र मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएन्डएम) कार्य सम्पन्न गरिएको, प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा सेवा प्रवाह र विकास व्यवस्थापनमा प्रभावकारिता ल्याउन उच्चस्तरीय प्रशासन सुधार कार्यदल गठन भएका, प्रदेशको नामाकरण भएकोलगायतका विषय उल्लेख गरेका छन् ।
कोशी प्रदेश समन्वय परिषद्ले पूर्णता पाएको, कोशी प्रदेश सरकारको सेवा प्रवाह र विकास व्यवस्थापन सम्बन्धी स्थितिपत्र २०७९ तर्जुमा गरिएको पनि सय दिनको उपलब्धिमा राखिएको छ । मुख्यमन्त्री भएपछि एउटा विधेयक निर्माणाधीन रहेको, प्रदेशसभाबाट ३ वटा विधेयक स्वीकृत भएको, प्रदेश प्रमुखबाट दुईवटा विधेयक प्रमाणीकरण भएको, प्रदेश सरकारको नियमावली तथा कार्यविधि, निर्देशिका बनेको उनले उल्लेख गरे । चालु खर्चको २५ प्रतिशत खर्च कटौती गरी श्रोत व्यवस्थापनको प्रयास गरिएको, प्रदेशको आन्तरिक राजश्व सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्ययन प्रतिवेदन प्राप्त भएको लगायतका विषय उल्लेख छ । ९० वटा सामुदायिक वन तथा ३३ वटा कबुलियती वनको कार्ययोजना नवीकरण भएको विषयलाई पनि उपलब्धिको रूपमा राखिएको छ । दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरूलाई प्रति लिटर दुई रुपैयाँका दरले १ करोड १७ लाख रकम उपलब्ध गराइएको पनि सय दिने उपलब्धिमा राखिएको छ । ७५० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्‍याएको, करिब ६० वटा नदी नियन्त्रण योजनाहरूको निर्माण गरेको, साना सिँचाइ कार्यक्रम मार्फत क्रमागत करिब ५० वटा योजना सम्पन्न गरेको, प्रदेशभरमा १५ वटा खानेपानी आयोजना सम्पन्न गरेको र ३२ वटा आयोजना स्किम सम्पन्न भई प्रदेश भित्रका करिब २५ हजार नागरिकलाई पर्याप्त, सफा र सुरक्षित खानेपानी सुविधा पुर्‍याएको उपलब्धिमा उल्लेख छ । सरकार बनेपछि प्रदेशभरमा ११६ कि.मी. सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको, उदयपुरस्थित बाउन्न खोला पुल र वलान खोला पुल तथा मोरङ्गस्थित केशलिया खोला पुल र महिमा खोला पुल निर्माण सम्पन्न भएको तथा प्रदेशका विभिन्न स्थानका १५ वटा झोलुङ्गे पुल निर्माणको काम ९० प्रतिशतले सम्पन्न भएको पनि उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार