जसपाको बिधान अधिबेशन सुरु

काठमाडौ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान अधिवेशनमा सोमबारबाट बन्दसत्र सुरू भएको छ।

आइतबार प्रज्ञा भवन कमलादीमा जसपाले आफ्नो विधान अधिवेशनको विधिवत उद्घाटन गरेको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले एक समारोहका बीच पार्टीको विधान अधिवेशन विधिवत उद्घाटन गरेका हुन् ।

असार १२ गतेसम्म चल्ने विधान अधिवेशनमा सात वटै प्रदेशमा राजनीतिक र निर्वाचन केन्द्रित पार्टी गतिविधिका लागि प्रदेश समितिहरुलाई जिम्मेवारी दिने र रणनीतिक रूपमा जातीय पहिचानमा आधारित ११ वटा राष्ट्रिय समिति गठनको प्रस्ताव अघि सारिएको छ । पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किरात, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरूहट, खसान र शिल्पी/दलित विशेष समिति रहने उल्लेख छ ।

संघीय परिषद्सहित १५१ सदस्यीय केन्द्रीय समिति र पार्टीको नेतृत्वमा जान ७० वर्षे उमेर हद प्रस्ताव गरिएको पार्टी विधानको मस्यौदा उपर सोमबारबाट छलफल हुने बताइएको छ ।

विधान मस्यौदामा एउटै पदमा दुई कार्यकाल भन्दा बढी नेतृत्वमा रहन नपाइने व्यवस्था प्रस्ताव गरिएको छ । बन्दसत्रमा १० वटा समिति बनाएर पार्टी विधानको मस्यौदा बारे छलफल गरी निष्कर्ष निकालिने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार