विराटनगर । अन्ततः नेकपा माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी हुने भएको छ ।
बिहीबार बसेको माओवादी केन्द्रको प्रदेश १ समितिका पदाधिकारी तथा संसदीय दलका नेतासहित सहभागी बैठकले प्रदेश सरकारमा जाने निणर्य गरेको हो ।
बैठकले मन्त्रीको छनौट गर्न प्रदेशका माओवादी इञ्चार्ज राम कार्की, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) रहेको समिति गठन गरेको छ । सोही समितिले सिफारिस गरेको आधारमा माओवादीबाट मन्त्री बन्नेछन् ।
बैठकले मन्त्री बनाउने ७ जनाको नाम सिफारिस गरेको बैठकमा सहभागी पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष पेशल खतिवडाले जानकारी दिए । सिफारिस भएका नाममध्ये पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा रहेका छन् । बैठकले अढाई वर्षपछि फेरिने मन्त्रीमण्डलमा अहिलेका मन्त्रीलाई नदोहोर्याउने निणर्य पनि गरेको छ ।
प्रदेश सरकारमा माओवादीले कम्तीमा ३ मन्त्रालयको दावी गरेको छ । तर, सरकारको नेतृत्वकर्ता एमालेले दुई वटा मन्त्रालय मात्र लिन भनिरहेको छ । त्यसबारे सहमति भएपछि मन्त्रीको नाम पठाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।
नयाँ मन्त्रीहरुको शपथग्रहण शुक्रबार विहान १० बजे हुने बताइएको छ । यसअघि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाबाट निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । उनीहरुले मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् ।


112 पटक हेरिएको 












