शनिश्चरे। पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ ले वडाको गौरव र प्रतिष्ठा बढाउन योगदान पुर्याउने विभिन्न विधाका ११ जना प्रतिभाहरुलाई नगद सहित सम्मान गरेको छ ।
बिहीबार आयोजना गरिएको कार्यक्रममा वडा नं. ४ मा अवस्थित भागीरथ माध्यमिक विद्यालयबाट यस वर्षको एसईई परीक्षामा ३.५ जीपीए भन्दा बढी ल्याउने ८ जना जेहेन्दार विद्यार्थीहरुलाई जनही ३ हजार ५ सय नगद र सम्मानपत्र प्रदान गरिएको थियो ।
यस्तै पथरी बहुमुखी क्याम्पसमा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने हिकेश श्रेष्ठ, ‘मिस्टर नेपाल २०२६’ मा ‘म्यान अफ द वल्र्ड’ उपाधि जित्न सफल प्रकाश चौहान तथा उदयमान फुटबल खेलाडी धनकुमारी लिम्बुलाई जनही रु. ५ हजार नगद सहित सम्मान–पत्र प्रदान गरिएको थियो । वडाले नव प्रतिभाहरुलाई प्रोत्साहन गर्दै उज्ज्वल भविष्य निर्माणका लागि उत्प्रेरणा प्रदान गर्ने हेतुले सो कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष लोककिरण न्यौपानेले जानकारी दिए। सम्मान कार्यक्रमका प्रमुख अतिथिका नगर उप–प्रमुख देविमाया काफ्ले, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।


15 पटक हेरिएको 




